

काठमाडौं – पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन्।
९८ वर्षीया शाहलाई आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालका सूचना अधिकारी विमल बोगटीका अनुसार शाहलाई फ्लु भएपछि उपचारका लागि अस्पताल ल्याइएको हो। उनका अनुसार शाहको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
“उहाँको अवस्था सामान्य छ। फ्लु भएको कारण अस्पताल ल्याइएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य छ,” बोगटीले भने।
उमेरका कारण देखिएका स्वास्थ्यसम्बन्धी समस्यालाई ध्यानमा राख्दै शाहलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।



