

चितवन – चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ।
बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक तथा कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ।
बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरूमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको र तीन वटा त्यस्ता कार्यक्रम गरिसकिएको छ।
उनले भने, ‘यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ।’ कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ। यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक तथा कर्मचारीबीच द्वन्द्व हुने गरेको छ।
अस्पताल प्रमुख डा बगालेका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिको विश्वासमा समेत प्रभाव पार्छ। उनले भने, ‘चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ। यसलाई नै प्राथमिकता दिँदै अभिमुखीकरण गरिएको हो।’
अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ बनाएको छ। यसले अस्पताललाई हरियाली र सफासँगै सेवाग्राही मैत्री बनाउन काम गर्ने बताइएको छ। वातावरणीय रूपमा सरसफाइसँगै हरियाली बनाउने, सेवाग्राहीसँग राम्रो व्यवहार गर्ने, सहज रूपमा सेवा प्रवाह गर्ने र पूर्वाधारलाई सुन्दर बनाउने जस्ता काम कमिटीले गरिरहेको छ।
अस्पताल प्रमुख डा बगालेका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीलाई राम्रो व्यवहारका लागि अभिमुखीकरण दिने, कम्तीमा १५ दिनमा एक पटक अभियानका रूपमा पूर्ण सरसफाइ गर्ने र शौचालयहरूमा सरसफाइको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ। उनले उपचार मात्र नभएर यससँगसँगै रहेका धेरै काम, जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ, त्यससम्बन्धी काममा ध्यान पुर्याइएको बताए।



