

गुल्मी – गुल्मीमा अवैध रूपमा सञ्चालन हुँदै आएका दुई मेडिकल बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा इस्मा गाउँपालिकाका वडा नम्बर १ र २ मा सञ्चालित दुई मेडिकल बन्द गरिएको हो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार इस्मा गाउँपालिकाका केही स्थानमा गाउँपालिका तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले अवैध रूपमा मेडिकल सञ्चालन गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा शुक्रबार स्थलगत अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा वडा नम्बर १ हर्पुकोटस्थित आलम मेडिकल र वडा नम्बर २ छल्दीटारीस्थित राम क्लिनिक अवैध रूपमा सञ्चालन भइरहेको पाइएको थियो। त्यसपछि दुवै मेडिकल बन्द गराई थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मेडिकल तथा क्लिनिक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गर्न नदिन अनुगमनलाई निरन्तरता दिइनेछ।
अवैध रूपमा सञ्चालन हुने मेडिकल तथा क्लिनिकमाथि आगामी दिनमा पनि निगरानी बढाउँदै कानुनी दायरामा ल्याइने प्रशासनले जनाएको छ।



