

काठमाडौँ – आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराइने औषधिको अभाव हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको छ।
मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूची र त्यसको व्यवस्थापनसम्बन्धी विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहमा पठाएको हो।
स्थानीय तहले आफ्ना मातहतमा रहेका स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा मेडिकल सामग्रीको नियमित आपूर्ति, उचित भण्डारण र निःशुल्क वितरणको व्यवस्था मिलाउनुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वर्षभरि आवश्यक औषधिको उपलब्धता कायम राख्न सम्बन्धित स्थानीय तहलाई आफ्नो जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्री व्यवस्थापन गर्न आग्रह गरेको छ।
पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न प्रकारका औषधि र स्वास्थ्य संस्थामा प्रयोग हुने मेडिकल सामग्रीको विस्तृत सूची पनि पठाइएको छ।
मन्त्रालयको यो कदमसँगै स्थानीय तहले औषधिको मौज्दात, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्दै नागरिकले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पाउने निःशुल्क औषधि सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।



