

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. जोशीलाई सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सदस्यसचिव डा. जोशीले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. जोशीसँग नेपाल स्वास्थ्य अनुसन्धान परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभवसमेत छ। उनले सन् २०२४ देखि २०२६ सम्म परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए।
डा. जोशीले सन् २००० मा युक्रेनस्थित ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन्। सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन्।



