

काठमाडौं – नेपालका निजी मेडिकल कलेजमा विदेशी चिकित्सकको नाम र उपस्थितिलाई लिएर गम्भीर प्रश्न उठेपछि नेपाल मेडिकल काउन्सिलले विस्तृत अनुसन्धान सुरु गरेको छ। कलेजमा कार्यरत रहेको विवरण पेस गरेका केही विदेशी चिकित्सकको कागजात र वास्तविक कार्यस्थलबीच मेल नखाएपछि काउन्सिलले छानबिन समिति बनाएको हो।
प्रारम्भिक जाँचका क्रममा एक विदेशी चिकित्सकले नेपालमा काम गरिरहेको देखाउन पेस गरेका विवरण शंकास्पद भेटिएका थिए। अनुसन्धान अगाडि बढाउँदा उनले नेपालमा कार्यरत रहेको भनिएको अवधिमै आफ्नो देशमा पनि व्यावसायिक काम गरिरहेको देखिएको काउन्सिल स्रोतले जनाएको छ। आवश्यक कागजातको आधिकारिकतासमेत पुष्टि हुन नसकेपछि काउन्सिलले यो विषयलाई व्यापक रूपमा अनुसन्धान गर्ने निर्णय गरेको हो।
अब अनुसन्धान एक जना चिकित्सकमा मात्र सीमित हुने छैन। नेपालमा काम गर्न अनुमति लिएका विदेशी चिकित्सकको दर्ता प्रक्रिया, उनीहरूले पेस गरेका प्रमाणपत्र, सम्बन्धित देशबाट लिइएको कार्य अनुमति र नेपालमा उनीहरूको वास्तविक उपस्थितिबारे अध्ययन गरिनेछ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार विदेशी चिकित्सकलाई मेडिकल कलेजले केवल आवश्यक परेको बेला मात्र फ्याकल्टीका रूपमा प्रस्तुत गरेको हुन सक्ने आशंका बढेको छ। विशेषगरी मेडिकल कलेजको निरीक्षण हुने समयमा चिकित्सकको उपस्थिति देखाएर अन्य समयमा उनीहरू नेपालमै नबस्ने गरेको हुन सक्ने विषय पनि छानबिनको दायरामा परेको छ।
चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको पूर्वाधार, शिक्षक तथा चिकित्सकको संख्या, अस्पतालमा बिरामीको चापलगायतका आधारमा विद्यार्थी भर्नाका लागि सिट संख्या निर्धारण गर्छ। यही प्रक्रियामा आवश्यक फ्याकल्टी संख्या देखाउन विदेशी चिकित्सकको नाम प्रयोग गरिएको हो कि भन्ने प्रश्न काउन्सिलले उठाएको छ।
हाल नेपालमा करिब तीन सयदेखि पाँच सयसम्म विदेशी चिकित्सक कार्यरत रहेको अनुमान छ। उनीहरूमध्ये ठूलो संख्या भारतीय चिकित्सकको रहेको र धेरैले निजी मेडिकल कलेजमा अध्यापन वा फ्याकल्टीका रूपमा काम गर्न अनुमति लिएको बताइएको छ।
काउन्सिलले केही मेडिकल कलेजले अनुगमनअघि नै सूचना पाएपछि आवश्यक चिकित्सक उपस्थित गराउने, अस्पतालको सेवा तथा बिरामीको चाप अस्वाभाविक रूपमा बढी देखाउनेजस्ता गतिविधि गरेको हुन सक्ने आशंका पनि गरेको छ। कतिपय विद्यार्थीबाट कलेजले दाबी गरेअनुसार शिक्षक तथा चिकित्सक नियमित रूपमा उपलब्ध नभएको र पढाइ प्रभावित भएको गुनासोसमेत आएको बताइएको छ।
यसबीच, काउन्सिलले विदेशी चिकित्सकको दर्ताका लागि पेस भएका केही कागजातमाथि गम्भीर प्रश्न उठेको जनाएको छ। सम्बन्धित देशको मेडिकल नियामक निकायबाट जारी भएको भनिएका केही ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ वास्तविक नभएको पुष्टि भएपछि थप अनुसन्धान आवश्यक देखिएको हो।
फर्जी कागजात पेस गरेको पुष्टि भएका केही विदेशी चिकित्सकको दर्ता प्रक्रिया रोकिएको छ भने अनुसन्धानको दायरामा रहेका अन्य चिकित्सकको दर्ता पनि तत्कालका लागि स्थगित गरिएको छ। यस्ता चिकित्सकलाई दर्ताका लागि सिफारिस गर्ने मेडिकल कलेज तथा स्वास्थ्य संस्थासँग समेत काउन्सिलले जवाफ माग्ने तयारी गरेको छ।
छानबिन समितिका प्रमुख डा. छबी पन्थीका अनुसार अनुसन्धानको उद्देश्य विदेशी चिकित्सकको योग्यता वा पेशामाथि प्रश्न उठाउनु नभई उनीहरूको नाम र दर्तालाई कुनै संस्थाले अनुचित लाभका लागि प्रयोग गरेको छ कि छैन भन्ने यकिन गर्नु हो। समितिले विदेशी चिकित्सकको वास्तविक कार्यस्थिति र मेडिकल कलेजसँगको सम्बन्धबारे अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ।



