

काठमाडौँ – श्रीलङ्काका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्राशयबाट ३.१ किलोग्राम तौलको विशाल पत्थरी शल्यक्रियामार्फत निकालेका छन्। चिकित्सकका अनुसार अभिलेखमा दर्ता भएका मूत्राशयका पत्थरीमध्ये यो अहिलेसम्मकै ठूलो हुन सक्छ।
पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीस्थित अस्पतालमा गत साता गरिएको शल्यक्रियाका क्रममा करिब १७ सेन्टिमिटर लामो पत्थरी निकालिएको हो। यसको तौल पूर्ण विकसित नवजात शिशुको तौलजति रहेको चिकित्सकहरूले बताएका छन्।
मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका ती बिरामीलाई पिसाब फेर्न समस्या देखिएपछि थप परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मूत्राशयमा ठूलो पत्थरी रहेको पत्ता लागेपछि चिकित्सकहरूले शल्यक्रिया गरेका थिए।
शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलहन बालकृष्णनका अनुसार उक्त पत्थरी बिरामीको मूत्राशयमा पाँचदेखि १० वर्षसम्म रहेको हुन सक्ने अनुमान गरिएको छ। शल्यक्रियापछि बिरामीको अवस्था अहिले राम्रो रहेको र अन्य स्वास्थ्य समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ।
मूत्राशयमा पिसाब पूर्ण रूपमा खाली हुन नसक्दा त्यसमा रहेका खनिज पदार्थ र क्रिस्टल जम्मा हुँदै गएर पत्थरी बन्न सक्छ। साना पत्थरी आफैं बाहिर निस्कन सक्छन् भने ठूला पत्थरीले पिसाबको प्रवाह रोक्ने भएकाले औषधि वा शल्यक्रियाको आवश्यकता पर्न सक्छ।
यसअघि सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्राशयबाट १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लामो पत्थरी निकालिएको थियो। श्रीलङ्कामा निकालिएको नयाँ पत्थरी तौलका हिसाबले त्यसभन्दा निकै ठूलो रहेको बताइएको छ।



