

धनकुटा – धनकुटामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टिरेबिज खोपको अभाव भएको छ। जिल्ला अस्पतालमा विगत ६ महिनादेखि आवश्यकता अनुसार खोप उपलब्ध हुन नसक्दा जनावरले टोकेका सर्वसाधारण निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य भएका छन्।
जिल्ला अस्पताल धनकुटाका लागि मासिक दुई सय डोज खोपको कोटा निर्धारण गरिएको भए पनि पछिल्लो ६ महिनादेखि ३० देखि ४० डोज मात्रै उपलब्ध हुँदै आएको अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिए। उनका अनुसार नियमित आपूर्ति नहुँदा अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई पर्याप्त खोप उपलब्ध गराउन समस्या भइरहेको छ।
कुकुर, बिरालो, मुसा, सुँगुरलगायतका जनावरले टोकेपछि रेबिजबाट जोगिन एन्टिरेबिज खोप लगाउनुपर्ने हुन्छ। सरकारी स्वास्थ्य संस्थामा सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको सूचीमा रहेको यो खोप धनकुटा जिल्लामा भने जिल्ला अस्पतालबाट मात्रै उपलब्ध हुँदै आएको छ।
जिल्ला अस्पतालमा खोप नपाएपछि सेवाग्राही निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता छ। निजी स्वास्थ्य संस्थामा एउटा डोज खोपका लागि करिब एक हजार रुपैयाँसम्म तिर्नुपर्ने अस्पतालले जनाएको छ। नियमित आम्दानी नभएका तथा ग्रामीण क्षेत्रका सर्वसाधारणका लागि यसले थप आर्थिक भार सिर्जना गरेको छ।
तर खोप आपूर्ति गर्दै आएको कोसी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र विराटनगरले भने अहिले खोपको अभाव नरहेको दाबी गरेको छ। केन्द्रका कोल्ड चेन निरीक्षक तारकेश्वर सिंहका अनुसार केही समयअघि नियमित आपूर्तिमा समस्या भए पनि अहिले पर्याप्त मात्रामा खोप उपलब्ध छ।
सिंहका अनुसार कोसी प्रदेशका १४ जिल्ला अस्पतालसहित ४२ स्वास्थ्य संस्थाबाट मासिक करिब चार हजार डोज खोपको माग हुने गरेको छ। तर केन्द्रको भण्डारणमा अहिले करिब ३२ हजार डोज खोप मौज्दात रहेको उनले बताए।
प्रदेश आपूर्ति केन्द्रमा पर्याप्त खोप रहेको दाबी गरिए पनि धनकुटा जिल्ला अस्पतालमा भने आवश्यकता अनुसार खोप पुग्न नसकेको अवस्था छ। केन्द्र र जिल्लास्तरको आपूर्ति व्यवस्थापनबीच देखिएको यही असन्तुलनका कारण निःशुल्क पाउनुपर्ने एन्टिरेबिज खोपका लागि सर्वसाधारणले निजी स्वास्थ्य संस्थामा अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था आएको छ।



