

काठमाडौं – आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका लागि योग्यता नपुगेका उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। समाजले छनोट प्रक्रिया कार्यविधि विपरीत रहेको दाबी गर्दै अन्तर्वार्ता सूची सच्याउन सरकारसँग माग गरेको छ।
समाजले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा गठित समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्डविपरीत उम्मेदवार समावेश गरिएको भन्दै ध्यानाकर्षण गराएको हो।
समाजका अनुसार आयुर्वेद विषयमा स्नातकोत्तर योग्यता नभई अकुपञ्चर (परम्परागत चिनियाँ चिकित्सा पद्धति) मा स्नातकोत्तर गरेका व्यक्तिलाई पनि परिषद्को अध्यक्ष पदका लागि अन्तर्वार्तामा बोलाइएको छ। यस्तो निर्णय प्रचलित कार्यविधिको भावना विपरीत भएको समाजको ठहर छ।
विज्ञप्तिअनुसार प्रारम्भिक नामावली प्रकाशित हुँदा नै समाजले स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयमा निवेदन दर्ता गराउँदै यस विषयमा ध्यानाकर्षण गराएको थियो। तर, त्यसलाई बेवास्ता गर्दै अन्तिम अन्तर्वार्ता सूचीमा पनि ती उम्मेदवारको नाम समावेश गरिएको भन्दै समाजले असन्तुष्टि जनाएको छ।
आयुर्वेद र अकुपञ्चर फरक–फरक शैक्षिक तथा व्यावसायिक विधा भएकाले परिषद्को नेतृत्व छनोटमा तोकिएको योग्यता, विधि र पारदर्शी प्रक्रिया अनिवार्य रूपमा पालना हुनुपर्ने समाजको माग छ।
समाजका सचिव डा. निश्चल गुप्ताद्वारा जारी विज्ञप्तिमा सुशासन र विधिको शासनको मर्मअनुसार अन्तर्वार्ता सम्बन्धी सूचना तत्काल संशोधन गरी योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गर्न आग्रह गरिएको छ।
परिषद् अध्यक्ष पदका लागि जया सत्याल, देवकला भण्डारी, श्यामबाबु यादव र सिद्धार्थकुमार ठाकुर अन्तर्वार्ताका लागि छनोट भएका छन्।



