

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली आयुर्वेदिक औषधि बिक्री–वितरण गर्दै आएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका–७ का २६ वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङको श्रीगंगा गाउँपालिका–७ का २९ वर्षीय आइतमान ताम्लिङ लिम्बू र ३३ वर्षीय उज्वल लिम्बू, ललितपुर महानगरपालिका–७ का ४२ वर्षीय सन्दीप महर्जन तथा नुवाकोटको विदुर नगरपालिका–२ का ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली आयुर्वेदिक औषधि बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू उपत्यकाका विभिन्न स्थानमा नक्कली औषधि बजारमा आपूर्ति र बिक्री गर्दै आएको खुलेको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न ब्रान्डका ठूलो परिमाणमा नक्कली आयुर्वेदिक औषधि तथा आयुर्वेदिक तेल बरामद गरेको जनाएको छ।
घटनामा संलग्न पाँचै जनामाथि कालोबजारी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



