

काठमाडौं- नेपाल आयुर्वेद औषधि उत्पादक संघ (एएमप्यान)का निवर्तमान अध्यक्ष सुमनप्रसाद पाण्डे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्यात प्रवर्द्धन समितिको सदस्यमा मनोनित भएका छन्।
कार्यकारिणी समिति सदस्य होमप्रसाद घिमिरेको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समितिमा पाण्डेलाई सदस्यका रूपमा मनोनयन गरिएको हो।
महासंघले नेपाली उत्पादन तथा सेवाको निर्यात प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार, निर्यातकर्ताले भोगिरहेका समस्याको समाधानका लागि पहल, निर्यातसम्बन्धी नीतिगत सुधारका सुझाव तथा निजी क्षेत्रको निर्यात क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समिति गठन गरेको जनाएको छ।
मनोनयन पत्रमा पाण्डेको अनुभव, ज्ञान र सक्रिय सहभागिताले नेपालको निर्यात क्षेत्रको विकास, निर्यात प्रवर्द्धनसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा महासंघका पहललाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।



