

काठमाडौं- कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नेतृत्व पाएको छ। विश्वविद्यालयको सभाले योग्यताक्रममा पहिलो स्थान हासिल गरेका प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरेको छ।
सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले योग्यताक्रमसहितको सिलबन्दी प्रतिवेदन सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत विश्वविद्यालय सभामा पेश गरेका थिए। कानुनी व्यवस्थाअनुसार पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त गर्दै मन्त्री पोखरेलले निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्री पोखरेलले नियुक्ति प्रक्रिया चिकित्सा क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको बताउँदै नवनियुक्त पदाधिकारीको नेतृत्वमा यही वर्षदेखि विश्वविद्यालयमा शैक्षिक र प्रशासनिक गतिविधि सञ्चालन हुने विश्वास व्यक्त गरे।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८० को दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने व्यवस्था छ।
को हुन् नयाँ उपकुलपति र रजिष्ट्रार?
नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्यका अनुभवी विज्ञ हुन्। उनले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विद्यावारिधि गरेका छन्। स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आएका जोशी यसअघि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका संस्थापक कुलपतिसमेत रहिसकेका छन्। उनले अक्सफोर्ड विश्वविद्यालयसँग पनि अनुसन्धान तथा शैक्षिक सहकार्य गरेका छन्। एमडी, एमफिल, पीएचडी, पीजीडीडी र एफआरएसपीएचलगायतका शैक्षिक उपाधि हासिल गरेका जोशी अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।
त्यस्तै, डा. भीमबहादुर चन्द स्वास्थ्य सेवा र स्वास्थ्य प्रशासन क्षेत्रमा करिब २५ वर्षको अनुभव भएका विज्ञ हुन्। अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका चन्द यसअघि विश्वविद्यालयको कार्यकारी परिषद्का सदस्य रहिसकेका छन्। बैतडीको पाटन नगरपालिका–१ का स्थायी बासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यका रूपमा पनि योगदान दिएका छन्। स्वास्थ्य नीति, सेवा व्यवस्थापन र संस्थागत विकासमा उनको लामो अनुभव रहेको छ।


