

काठमाडौं – औषधि व्यवसायी संघ (एनसीडीए) काठमाडौं जिल्ला शाखाले अनधिकृत अनलाइन माध्यमबाट औषधि खरिद–बिक्री नगर्न आम उपभोक्ता तथा औषधि व्यवसायीलाई आग्रह गरेको छ। संघले औषधिको सुरक्षित प्रयोग, गुणस्तर कायम तथा जनस्वास्थ्य संरक्षणका लागि विभिन्न सचेतनामूलक निर्देशन जारी गरेको हो।
संघले जारी गरेको सूचनामा आकर्षक छुट, घरमै डेलिभरी तथा सामाजिक सञ्जालमार्फत अनुमति नलिई सञ्चालन गरिएका अनलाइन माध्यमको प्रभावमा परेर औषधि खरिद नगर्न उपभोक्तालाई अनुरोध गरेको छ। औषधि खरिद गर्दा आधिकारिक रूपमा सञ्चालन भएका औषधि पसलबाट मात्रै बिलबिजकसहित औषधि लिन, औषधिको म्याद , मूल्य, प्याकेजिङ तथा गुणस्तर जाँच गर्न पनि सुझाव दिइएको छ।
एनसीडीएका अनुसार भ्याक्सिनलगायत ‘कोल्ड चेन’ आवश्यक पर्ने औषधि उचित तापक्रममा भण्डारण गरिएको सुनिश्चित गर्नुपर्ने र चिकित्सक वा दर्तावाला औषधि व्यवसायीको सल्लाहबिना औषधिको प्रयोग, पुनः प्रयोग (रिफिल) वा परिवर्तन गर्न नहुने उल्लेख गरिएको छ।
संघले अनधिकृत अनलाइन माध्यमबाट हुने औषधिको बिक्री–वितरणले औषधिको गुणस्तर, उचित भण्डारण, तापक्रम व्यवस्थापन, मौलिकता तथा ट्रेसबिलिटी सुनिश्चित गर्न कठिन हुने भएकाले यसले जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ।
खुद्रा औषधि व्यवसायीलाई आधिकारिक थोक विक्रेता वा सुपर स्टकिस्टबाट मात्रै औषधि खरिद गर्न, प्रत्येक कारोबारमा वैधानिक बिल सुरक्षित राख्न तथा बिलमा उल्लेखित औषधिको नाम, शक्ति, ब्याच नम्बर, उत्पादन मिति, म्याद समाप्ति मिति, मूल्यलगायत विवरण वास्तविक औषधिसँग मिलेको सुनिश्चित गर्न आग्रह गरिएको छ।
त्यस्तै, बिलबिजकविना वा शंकास्पद स्रोतबाट आएका औषधि खरिद तथा बिक्री नगर्न, औषधिको मौलिकता वा गुणस्तरमा शंका लागे सम्बन्धित उत्पादक कम्पनी, आधिकारिक आपूर्तिकर्ता वा औषधि व्यवस्था विभागसँग समन्वय गर्न संघले अनुरोध गरेको छ।
एनसीडीएले फार्मेसीहरूले अनिवार्य रूपमा ग्राहकलाई बिल उपलब्ध गराउनुपर्ने, चिकित्सकीय पुर्जाको सम्मान गर्दै उचित परामर्शसहित औषधि उपलब्ध गराउनुपर्ने तथा आवश्यक अवस्थामा चिकित्सकसँग समन्वय गरेर मात्रै समान सक्रिय तत्व भएको औषधि उपलब्ध गराउनुपर्ने जनाएको छ।
यस्तै, औषधिको उचित तापक्रम र भण्डारण मापदण्ड पालना गर्न, म्याद नजिकिएका औषधिमा ‘फर्स्ट एक्सपायरी, फर्स्ट आउट’ प्रणाली लागू गर्न तथा अभिलेख राख्नुपर्ने औषधिको नियमित रेकर्ड राख्न पनि व्यवसायीलाई निर्देशन दिइएको छ।
आधिकारिक थोक विक्रेतालाई पनि बिलमा आफू र खरिदकर्ताको आवश्यक विवरण अनिवार्य उल्लेख गर्न, सबै औषधिको विवरण सही रूपमा अभिलेख राख्न तथा आधिकारिक आपूर्ति शृङ्खलाबाहिरबाट आएका औषधि कारोबार नगर्न संघले आग्रह गरेको छ।


