

काठमाडौं – नेपालका सुदूरपश्चिमका थारू समुदायका किशोरी तथा युवतीलाई भारतमा अवैध रूपमा अण्डाणु (एग) दान गराउन मानव तस्करी गर्ने अन्तरदेशीय गिरोह सक्रिय रहेको खुलासा भएको छ। गिरोहले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी प्रतिपटक अण्डाणु दान गरेबापत ३० हजार भारतीय रुपैयाँसम्म दिने प्रलोभन देखाएर उनीहरूलाई भारत लैजाने प्रयास गरिरहेको पाइएको हो।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करले कैलाली र कञ्चनपुरमा गरेको स्थलगत अनुसन्धानमा यस्तो तथ्य बाहिर आएको हो। अनुसन्धानका क्रममा गिरोहले विशेषगरी आर्थिक रूपमा कमजोर र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने थारू समुदायका किशोरी तथा युवतीलाई लक्षित बनाएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार तस्करहरूले सामाजिक सञ्जालमार्फत नेपालका किशोरीसँग मित्रता गाँस्ने, भारतमा बसोबास गर्ने नेपाली महिलाको सहयोगमा आकर्षक जीवनशैली देखाउने र अण्डाणु दानलाई रक्तदानजस्तै सामान्य प्रक्रिया भएको भन्दै विश्वास दिलाउने गरेका छन्। त्यसपछि उनीहरूलाई उत्तर प्रदेश हुँदै दिल्ली पुर्याउने व्यवस्था मिलाइने गरेको खुलेको छ।
कञ्चनपुरकी एक किशोरी (नाम परिवर्तन) लाई पनि दिल्ली बोलाएर प्रतिपटक अण्डाणु दान गरेबापत ३० हजार भारतीय रुपैयाँ दिने प्रस्ताव गरिएको थियो। तर भारत–नेपालको गौरीफन्टा नाकाबाट भारत प्रवेश गर्ने क्रममा सुरक्षा निकायको निगरानीमा परेपछि उनी उद्धार भएकी थिइन्।
अनुसन्धानका अनुसार अवैध रूपमा संकलन गरिएका अण्डाणु निःसन्तान महिलाको गर्भाधानका लागि प्रयोग हुने गरेका छन्। यसबापत सम्बन्धित दम्पतीबाट चारदेखि पाँच लाख भारतीय रुपैयाँसम्म असुल्ने गरिएको बताइएको छ।
मानव तस्करहरूले सामाजिक सञ्जालमा दुई–तीन जना नेपाली युवतीलाई एउटै समूहमा जोडेर विश्वास दिलाउने, भारत पुग्ने सम्पूर्ण यात्रा व्यवस्थापन गरिदिने र आर्थिक समस्यामा परेका परिवारका छोरीलाई लक्षित बनाउने रणनीति अपनाएको अनुसन्धानमा उल्लेख छ।
नेपाल राष्ट्रिय मानवअधिकार आयोगले पनि अवैध अण्डाणु दानका लागि हुने मानव तस्करीलाई नयाँ र गम्भीर चुनौतीका रूपमा लिएको जनाएको छ।
आयोगका संयुक्त सचिव प्रकाश दत्त भट्टका अनुसार सुदूरपश्चिमका दुर्गम तथा गरिब समुदायमा चेतनाको अभावको फाइदा उठाउँदै तस्करहरूले अत्यन्त योजनाबद्ध ढंगले महिला तथा किशोरीलाई आफ्नो जालमा पारिरहेका छन्।
आयोगले सार्वजनिक गरेको सन् २०२६ को प्रतिवेदनअनुसार भारत–नेपाल सीमामा हरेक वर्ष औसत ७ हजार ४ सय जनालाई मानव तस्करीको आशंकामा रोक्ने गरिएको छ। तीमध्ये ५२ प्रतिशत महिला र ४२ प्रतिशत नाबालिका रहेका छन्।
खुला सीमाका कारण मानव तस्करीको यकिन तथ्यांक उपलब्ध नभए पनि सीमा क्षेत्रमा सुरक्षा निकाय र गैरसरकारी संस्थाहरूले निगरानी बढाउँदै आएका छन्। शंकास्पद अवस्थामा भेटिएका महिला तथा बालिकालाई उद्धार गरी परामर्शपछि परिवारको जिम्मा लगाउने गरिएको छ।


