

काठमाडौं – गर्मी र मनसुन सुरु भएसँगै देशभर झाडापखाला, डेंगु, स्क्रब टाइफस, श्वासप्रश्वास संक्रमणलगायत सरुवा रोगको जोखिम बढ्दै गएको छ। मौसममा आएको असामान्य परिवर्तन, तापक्रमको उतारचढाव तथा वर्षाका कारण संक्रमण बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हाल देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका १ हजार ६ सय ५५ बिरामी फेला परेका छन्। तीमध्ये सबैभन्दा धेरै ७२० जना झाडापखालाका, ४८८ जना इन्फ्लुएन्जाजस्ता लक्षण भएका, ३३९ जना गम्भीर श्वासप्रश्वास संक्रमणका, ५३ जना डेंगु र १९ जना स्क्रब टाइफसका संक्रमित रहेका छन्।
प्रदेशगत रूपमा झाडापखालाका बिरामी बागमतीमा सबैभन्दा बढी देखिएका छन् भने डेंगु संक्रमण लुम्बिनी प्रदेशमा र स्क्रब टाइफस सुदूरपश्चिममा बढी पुष्टि भएको ईडीसीडीले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार वर्षायाममा दूषित पानी र खानाबाट हैजा, टाइफाइड, झाडापखाला, हेपाटाइटिस तथा लामखुट्टे र किर्नाको टोकाइबाट डेंगु, स्क्रब टाइफस, मलेरिया र जापानी इन्सेफलाइटिसजस्ता रोग फैलिने जोखिम बढी हुन्छ।
उनले उमालेको वा शुद्ध पानी मात्रै पिउने, ताजा र राम्रोसँग पकाएको खाना खाने, हातको सरसफाइमा ध्यान दिने, घरवरिपरि पानी जम्न नदिने तथा लामखुट्टेबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन्।
यस्तै, वर्षायामसँगै तराई तथा भित्री मधेसमा सर्पदंशको जोखिम पनि बढ्ने भएकाले राति टर्च प्रयोग गर्ने, झुलभित्र सुत्ने, घरवरिपरि झाडी सफा राख्ने र सर्पले टोकेको आशंका भए तत्काल स्वास्थ्य संस्थामा पुग्न चिकित्सकले सुझाव दिएका छन्।


