

काठमाडौं – आमाको दुध पाउन नसक्ने नवजात शिशुलाई सुरक्षित रूपमा मानव दुग्ध उपलब्ध गराउने उद्देश्यले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सञ्चालनमा रहेको ‘अमृत कोष’ (ह्युमन मिल्क बैंक) मा पछिल्लो समय दुधको माग उल्लेखनीय रूपमा बढेको छ। विभिन्न अस्पताल र मेडिकल कलेजहरूले पत्राचार गरेर समेत दुध माग गर्न थालेका छन्।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार दैनिक करिब डेढदेखि दुई लिटरसम्म आमाको दुध संकलन हुने गरे पनि बढ्दो माग धान्न पर्याप्त छैन। उनले अन्य अस्पतालले आफ्नै ठाउँमा दुध संकलन गरी प्रसूति गृहमा प्रशोधनका लागि पठाउने र पुनः फिर्ता लैजाने केन्द्रीकृत मोडल प्रस्ताव गरिएको जानकारी दिए।
२०७९ भदौ ३ गते स्थापना भएको नेपालकै पहिलो ह्युमन मिल्क बैंकमा संकलित दुधलाई कीटाणु परीक्षणपछि पास्चराइज गरेर छ महिनासम्म सुरक्षित भण्डारण गरिन्छ। यो दुध विशेषगरी आमाको दुध नपाएका, समयअघि जन्मिएका तथा आईसीयू/एनआईसीयूमा रहेका शिशुलाई उपलब्ध गराइन्छ।
स्वस्थ आमाले आफ्नो बच्चाले खाएर बाँकी रहेको दुध दान गर्न सक्ने व्यवस्था छ। तर एचआईभी, हेपाटाइटिस ‘बी’, ब्लड क्यान्सर वा अन्य दीर्घरोग भएका तथा मदिरा, चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्ने आमाले भने दुध दान गर्न मिल्दैन।
डा. अधिकारीका अनुसार आमाको दुधमा हुने रोग प्रतिरोधात्मक तत्त्व, प्रोटिन, भिटामिन र अन्य पोषक तत्वको विकल्प फर्मुला दुध हुन नसक्ने भएकाले मिल्क बैंकले नवजात शिशुको स्वास्थ्य संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। उनले देशका हरेक प्रदेशमा कम्तीमा एउटा मानव दुग्ध बैंक स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।


