

काठमाडौं- राजधानीको मुख्य तरकारी बजार कालीमाटीमा बिक्रीका लागि ल्याइएका केही तरकारीमा अत्यधिक विषादी अवशेष फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गरेका १२ वटा फलफूल तथा तरकारीका नमूनामध्ये तीनवटा उपभोगका लागि अयोग्य ठहर गर्दै तत्काल नष्ट (डिस्पोज) गर्न निर्देशन दिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला (कालीमाटी) की प्रमुख डा. शान्ता कार्कीका अनुसार असार १२ गते संकलन गरिएका नमूनाको परीक्षणमा धादिङबाट ल्याइएको लौका, मकवानपुरबाट ल्याइएको करेला र सल्यानबाट ल्याइएको आलुमा तोकिएको मापदण्डभन्दा निकै बढी विषादी अवशेष भेटिएको हो।
प्रयोगशालाका अनुसार धादिङको रुबीभ्याली गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५२ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको करेलामा ६५.४५ प्रतिशत र सल्यानबाट ल्याइएको आलुमा ६६.११ प्रतिशत विषादी अवशेष फेला परेको छ। यी तीनवटै उपजमा ६० प्रतिशतभन्दा बढी विषादी भेटिएकाले बजारमा बिक्री–वितरण गर्न नदिई नष्ट गर्न सिफारिस गरिएको डा. कार्कीले जानकारी दिइन्।
यता, ललितपुरबाट ल्याइएको गोलभेँडा, मकवानपुरको बन्दाकोबी, धादिङको तितेकरेला र भान्टा, रोल्पाको आलु, सिन्धुपाल्चोकबाट ल्याइएका दुई नमूना आलु, सल्यानकै अर्को आलु तथा भारतबाट आयात गरिएको प्याजमा भने विषादीको मात्रा स्वीकृत सीमाभित्र रहेको पाइएको छ। ती उपज उपभोगका लागि सुरक्षित रहेको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाले विषादी अवशेष परीक्षणका लागि निश्चित मापदण्ड अपनाउँदै आएको छ। ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी तथा फलफूललाई उपभोगयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भएका उपजलाई केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षणपछि मात्रै उपभोग गर्न अनुमति दिइन्छ। ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएमा भने त्यस्ता उपज अनिवार्य रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ।
प्रयोगशालाले सार्वजनिक गरेको यो परीक्षण नतिजा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेषमा मात्रै आधारित रहेको स्पष्ट पारेको छ। अन्य प्रकारका विषादी वा रासायनिक पदार्थको परीक्षणमा भने यो नतिजा लागू नहुने जनाइएको छ।



