

चितवन – भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा अस्पतालले ८९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
गत आर्थिक वर्ष ८८ अंक प्राप्त गरेको भरतपुर अस्पतालले यस वर्ष एक अंक सुधार गर्दै ८९ अंकसहित ग्रिन जोनमा आफ्नो स्थान कायम राखेको छ।
मूल्यांकनअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्पतालले सेवा प्रवाहमा थप सुधार गरेको बताए। उनका अनुसार बिरामीले पाउने सेवा–सुविधा, अस्पतालमा उपलब्ध उपकरण, ड्युटी रोस्टर, सरसफाइ, औषधिको उपलब्धता तथा जनशक्ति व्यवस्थापनलगायतका पक्षमा निरन्तर सुधार गरिएको छ।
उनले चिकित्सक, नर्स तथा अन्य कर्मचारीको सकारात्मक सोच र सेवाप्रतिको प्रतिबद्धताले अस्पतालको समग्र कार्यसम्पादनमा उल्लेखनीय सुधार आएको बताए।
गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार देशभरका १४ वटा संघीय जनरल अस्पतालको मूल्यांकनका क्रममा भरतपुर अस्पताल सेवा गुणस्तरमा सबैभन्दा उत्कृष्ट देखिएको हो। मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि १ हजार ४९७ वटा सूचक निर्धारण गरेको उनले जानकारी दिए।
डा. तिवारीका अनुसार मूल्यांकनबाट देखिएका कमजोरी सुधार गर्न आवश्यक बजेट तथा कार्यक्रम व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्दै आएको छ। उनले भरतपुर अस्पतालमा विगतमा एमआरआई र क्याथ ल्याब सेवा नहुँदा मूल्यांकनमा कमी देखिए पनि पछि मन्त्रालयले बजेट उपलब्ध गराएपछि ती सेवा सञ्चालनमा आएको उल्लेख गरे।
उनका अनुसार अस्पतालले आफैं सुधार गर्नुपर्ने पक्षमा आवश्यक निर्देशन दिने र केन्द्र सरकारबाट सहयोग आवश्यक पर्ने विषयमा बजेट तथा कार्यक्रममार्फत सम्बोधन गर्ने व्यवस्था रहेको छ।
डा. तिवारीले अधिकांश सूचक पूरा गरेकाले भरतपुर अस्पताल उत्कृष्ट बन्न सफल भएको बताए। यद्यपि सामाजिक परीक्षण र अस्पताल विकास समितिको सक्रियतालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
६ सय शय्याको भरतपुर अस्पतालमा दैनिक २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले बहिरंग (ओपीडी) सेवा लिने गरेका छन्। अस्पतालले हाल १४ वटा सुपर स्पेसालिटी सेवा सञ्चालन गरिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बगालेले जानकारी दिए।


