

काठमाडौं- चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८३/८४ का लागि चिकित्सा शिक्षाको स्नातक, स्नातकोत्तर, स्पेसियालिटी तथा डीएम, एमसिएच र सब–स्पेसियालिटी तहको एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ को उपदफा (९) बमोजिम क्यालेन्डर स्वीकृत गरिएको जनाएको हो। आयोगले सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्था तथा स्वास्थ्य संस्थालाई स्वीकृत क्यालेन्डर अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
सार्वजनिक क्यालेन्डरअनुसार सबै तहका कार्यक्रमका लागि सेल्फ अप्राइजल फाराम भर्ने, भेरिफिकेशन, शिक्षण संस्थाको स्थलगत अनुगमन, सिट निर्धारण, आवेदन आह्वान, एकीकृत प्रवेश परीक्षा, नतिजा प्रकाशन, पुनर्योग, प्राथमिकताक्रम निर्धारण, म्याचिङ तथा भर्नालगायत सम्पूर्ण प्रक्रिया निश्चित समयसीमाभित्र सम्पन्न गरिनेछ।



