

काठमाडौं – सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरका एक हजार ५४६ विद्यालयमा सञ्चालन गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको सम्बन्धित महाशाखाकी निर्देशक हीरादेवी निरौलाका अनुसार विद्यालय तहका बालबालिकाको स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि विद्यालयमा नर्स खटाउने व्यवस्था गरिएको हो।
उनका अनुसार हाल सञ्चालनमा रहेका कार्यक्रममध्ये ३२७ विद्यालयमा सङ्घीय सरकारमार्फत नर्स खटाइएको छ भने बाँकी विद्यालयमा प्रदेश र स्थानीय तहसँगको समन्वयमा सेवा सञ्चालन भइरहेको छ। ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ अन्तर्गत विद्यार्थीलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयन गरिएको उनले बताइन्।
‘विद्यालय तहमा बालबालिकाको स्वास्थ्य उपचार र निगरानीका लागि नर्सको दरबन्दी सिर्जना गरेर खटाउन थालेका छौँ,’ निर्देशक निरौलाले भनिन्, ‘नर्सहरूले विद्यार्थीको आवश्यकताअनुसार समग्र स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्छन्।’
कार्यक्रमअन्तर्गत खटिएका नर्सहरूले विद्यार्थीको पोषण अवस्था मूल्याङ्कन गर्ने, नियमित विद्यालय उपस्थितिको निगरानी गर्ने, रक्तअल्पता (एनिमिया) परीक्षण गर्ने तथा स्वास्थ्य समस्याको पहिचान गरी आवश्यक सुझाव दिने कार्य गर्दै आएका छन्। रक्तअल्पता देखिएका विद्यार्थीलाई आइरन चक्की सेवनबारे परामर्शसमेत दिइने गरिएको छ।
त्यसैगरी कुनै विद्यार्थी नियमित रूपमा विद्यालय नआएको अवस्थामा कारण बुझ्न अभिभावकसँग सम्पर्क गर्ने, आवश्यक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पनि नर्सलाई दिइएको छ।
सरकारले आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम पाइलट परियोजनाका रूपमा सुरु गरेको थियो। विद्यालयस्तरमै स्वास्थ्य समस्या समाधान गर्ने र विद्यार्थीमार्फत परिवार तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो।
यद्यपि आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन नभएकाले कार्यक्रमलाई थप विद्यालयमा विस्तार गर्न कठिनाइ हुने निर्देशक निरौलाले बताइन्।
उनका अनुसार कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा एक छात्र र एक छात्रालाई ‘स्वास्थ्य राजदूत’ चयन गरी स्वास्थ्य सचेतना फैलाउने अभियानसमेत सञ्चालन गरिँदै आएको छ। यसले विद्यार्थीहरूलाई स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्नुका साथै विद्यालय र समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


