

काठमाडौं – कुकुरको टोकाइबाट सर्ने घातक रेबिज रोगविरुद्धको एन्टिरेबिज भ्याक्सिन (एआरभी) देशभर अभाव भएको छ। सरकारले समयमै खोप खरिद गर्न नसक्दा सरकारी स्वास्थ्य संस्थाहरूमा खोपको संकट देखिएको हो।
सरकारले हरेक वर्ष रेबिजबाट बचाउन करिब तीन लाखभन्दा बढी मात्रा खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको थियो। तर यस वर्ष खरिद प्रक्रिया लम्बिँदा देशभरका अस्पतालमा खोप अभाव भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जहाँ दैनिक करिब दुई सय जना कुकुरले टोकेपछि खोप लगाउन पुग्ने गर्छन्, त्यहाँसमेत खोप अभाव देखिएको छ। खोप लगाउन आएका केही बिरामी खोप नपाएर फर्किनुपरेको गुनासो गरेका छन्।
अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीले खोप अभावबारे आफूले प्रतिक्रिया दिन नमिल्ने बताए। यद्यपि अस्पतालका चिकित्सकहरूका अनुसार अन्यत्र खोप नपाएका बिरामी टेकु अस्पतालमा पुग्ने क्रम बढेकाले बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीका अनुसार करिब पाँच लाख भायल एआरभी खोप खरिदको टेन्डर अन्तिम चरणमा पुगे पनि आपूर्ति प्रक्रिया सुरु हुन सकेको छैन।
उनले अन्तर्राष्ट्रिय बजारमा खोपको मूल्य वृद्धि, डलर विनिमय दरमा आएको परिवर्तन तथा विश्वव्यापी आपूर्ति समस्याका कारण पुरानो दररेटमा खोप उपलब्ध हुन नसकेको बताए।
‘माघ महिनादेखि चार पटक टेन्डर आह्वान गरियो, तर पुरानै मूल्यमा खोप उपलब्ध गराउन इच्छुक आपूर्तिकर्ता नआएकाले टेन्डर सफल हुन सकेन,’ उनले भने।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक आह्वान गरिएको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मूल्य समायोजन गरिएकाले अब खरिद प्रक्रिया टुंगिएर छिट्टै आपूर्ति सुरु हुने अपेक्षा गरिएको छ।
अधिकारीका अनुसार हालै मात्र चार हजार पाँच सय भायल एआरभी खोप नेपाल भित्रिएको छ। उक्त परिमाणले टेकु अस्पतालको एक महिनाको आवश्यकता मात्रै धान्न सक्ने अनुमान गरिएको छ।
यस्तै १७ हजारभन्दा बढी मात्रा रेबिज इम्युनोग्लोबुलिन खरिद प्रक्रिया पनि अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षमा रेबिजविरुद्धको खोप अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन गरिने मन्त्रालयको दाबी छ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज अत्यन्त घातक भाइरल रोग हो, जुन मुख्यतया संक्रमित कुकुर वा अन्य जनावरको टोकाइ तथा चिथोरेको घाउमार्फत सर्छ।
संक्रमित जनावरको र्याल शरीरभित्र प्रवेश गरेपछि भाइरस स्नायु प्रणाली हुँदै मस्तिष्कसम्म पुग्छ र गम्भीर असर पुर्याउँछ। रोगको लक्षण देखिन थालेपछि उपचार सम्भावना अत्यन्त न्यून हुने र अधिकांश अवस्थामा बिरामीको मृत्यु हुने चिकित्सकहरू बताउँछन्।
डा. पुनका अनुसार कुकुरले टोकेपछि समयमै रेबिजविरुद्धको खोप लगाए रोगबाट बच्न सकिन्छ। ‘२४ घण्टाभित्रै खोप लगाउनैपर्छ भन्ने गलत धारणा छ,’ उनले भने, ‘जति सक्दो छिटो खोप लगाउनु महत्वपूर्ण हो। भाइरसले लक्षण देखाउन एक सातादेखि केही महिना लाग्न सक्छ।’
उनका अनुसार कुकुरले टोकेपछि घाउ राम्ररी सफा गर्ने र अनिवार्य रूपमा स्वास्थ्य संस्थामा पुगेर खोप लगाउने नै रेबिजबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा रेबिजका कारण प्रत्येक वर्ष करिब एक सय जनाको मृत्यु हुने अनुमान छ। वास्तविक संख्या अझ बढी हुन सक्ने महाशाखाको भनाइ छ, किनकि धेरै बिरामी अस्पताल नपुग्ने वा तथ्यांकमा समावेश नहुने समस्या रहेको छ।
हालै असार ६ गते काठमाडौँको चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय पुरुषको रेबिजका कारण मृत्यु भएको थियो। उनलाई चार महिनाअघि कुकुरले टोकेको भए पनि उनले खोप लगाएका थिएनन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार पछिल्लो तीन वर्षमा रेबिजका कारण ४६ जनाको मृत्यु भएको छ। अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार सन् २०२४ मा १९ जना, सन् २०२५ मा २२ जना र सन् २०२६ को पुसदेखि असार पहिलो सातासम्म थप ५ जनाको रेबिजका कारण मृत्यु भएको छ।
खोप अभावका कारण जोखिम झन् बढ्न सक्ने भन्दै चिकित्सकहरूले सरकारले तत्काल पर्याप्त मात्रामा एआरभी खोप उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।



