

काठमाडौं – सगरमाथा क्षेत्रमा अत्यन्त कठिन परिस्थितिमा केही दिन बिताएका ५७ वर्षीय हिमाल आरोहण गाइड दावा शेर्पाको सफल उद्धारपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ।
ह्याम्स अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उद्धारपछि अस्पताल ल्याइएका शेर्पामा गम्भीर निर्जलीकरण (डिहाइड्रेसन), दुवै हातका कान्छी औँलामा ग्रेड–२ फ्रस्टबाइट, दाहिने हातको बुढी औँला र बीचको औँलामा ग्रेड–१ फ्रस्टबाइट तथा दाहिने खुट्टाको तिघ्राको भागमा हड्डी भाँचिएको र मांसपेशीभित्र रगत जमेको समस्या देखिएको छ।
हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। फ्रस्टबाइटको उपचारका लागि आइभी इलोप्रोस्ट थेरापी, अक्सिजन, सलाइनमार्फत तरल पदार्थ तथा आवश्यक अन्य सहायक उपचार प्रदान गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार शेर्पाको निर्जलीकरणको समस्या उल्लेखनीय रूपमा सुधार भइरहेको छ। विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन अझै आईसीयूमै राखेर निगरानी तथा उपचार जारी राखिनेछ। अस्पतालले आवश्यकताअनुसार थप स्वास्थ्य विवरण सार्वजनिक गरिने जनाएको छ।



