

मोरङ- रंगेली अस्पतालले ओपीडी सेवा सञ्चालन हुने समयमा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) हरूलाई अस्पताल परिसरमा प्रवेश गरी चिकित्सकहरूलाई भेट्न रोक लगाएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने ओपीडी सेवाको समयमा एमआरहरूलाई अस्पताल प्रवेश गर्न नपाइने जनाएको हो।
अस्पताल प्रशासनका अनुसार उक्त व्यवस्था सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो। ओपीडी समयमा चिकित्सकहरू बिरामीको उपचारमा व्यस्त रहने भएकाले सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनामा सम्बन्धित सबै एमआर तथा सरोकारवालालाई उक्त व्यवस्था पालना गर्न अनुरोध गरिएको छ।


