

धनगढी – कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ की २२ वर्षीया सानु विकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टन्सिलसम्बन्धी समस्याको उपचारका लागि विकलाई नवजीवन अस्पतालमा भर्ना गरिएको थियो। गत जेठ ९ गते शल्यक्रिया सम्पन्न भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी थिइन्।
घर फर्किएपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएर मुखबाट रगत बग्न थालेपछि उनलाई मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिरहेको अवस्थामा बुधबार बिहान २ बजेर ४६ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि मृतकका आफन्तजनले चिकित्सकको लापरबाहीका कारण युवतीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। सम्भावित तनावलाई मध्यनजर गर्दै अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरी टोली परिचालन गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


