

चितवन – गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार र डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले २९ वर्षीय डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। उनको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलस्थित एक घरको कोठा भाडामा लिएर बस्दै आएका थिए।
धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका यादव अवैध क्रिप्टोकरेन्सी नेटवर्क सञ्चालनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत बाइनान्स र बाइबिटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध कारोबार तथा सञ्चय भइरहेको पाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।
हाल उनी कार्यरत रहेको अस्पताल तथा अन्य स्रोतबाट समेत ठगीसम्बन्धी विवरण संकलन भइरहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


