

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपाल–चीन सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेटका क्रममा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य क्षेत्रमा भइरहेको सहयोग तथा आगामी सहकार्यका सम्भावनाबारे कुराकानी भएको थियो।
भेटमा मन्त्री मेहताले नेपाललाई विभिन्न क्षेत्रमा चीन सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन्। विशेषगरी स्वास्थ्य क्षेत्रका परियोजना तथा विकास साझेदारीमा चीनले दिएको योगदानको प्रशंसा गर्दै उनले चीनले हासिल गरेको विकास अनुभवबाट नेपालले पाठ सिक्दै योजनाबद्ध ढङ्गले अघि बढ्ने बताइन्।
राजदूत चाङले नेपाल सरकारको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा वर्तमान सरकारले उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका थिए।
उनले चीन सरकार नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रमा सहयोग गर्न तयार रहेको समेत बताए। साथै परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार विकास तथा खाद्य स्वच्छताका क्षेत्रमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग विस्तार गर्न सकिने प्रस्ताव पनि राखेका थिए।
भेटवार्तामा मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो। नेपाल–चीनबीच स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको मन्त्रालयले जनाएको छ।



