

काठमाडौं – क्यान्सर उपचारमा नयाँ आशा जगाउने औषधि ‘अमिभान्तामाब’ (amivantamab) ले केही बिरामीमा ट्युमर पूर्ण रूपमा नष्ट गरेको क्लिनिकल परीक्षणले देखाएको छ।
औषधि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको हो। यो औषधि ११ देशमा गरिएको क्लिनिकल ट्रायलमा ती बिरामीहरूमा प्रयोग गरिएको थियो, जसमा क्यान्सर अन्य उपचारपछि पनि फर्किएको वा फैलिएको थियो।
परीक्षण नतिजाअनुसार एक तिहाइभन्दा बढी बिरामीमा ट्युमरको आकार उल्लेख्य रूपमा घटेको पाइएको छ भने १५ जना बिरामीमा ट्युमर पूर्ण रूपमा हराएको चिकित्सकहरूले बताएका छन्। केही बिरामीमा त केही हप्तामै उल्लेखनीय सुधार देखिएको थियो।
लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्रोफेसर केभिन हेयरिङटनले यसलाई “अभूतपूर्व परिणाम” भन्दै सीमित उपचार विकल्प भएका बिरामीका लागि यो महत्वपूर्ण प्रगति भएको बताएका छन्।
११ देशका १०२ जना टाउको तथा घाँटी क्यान्सरका बिरामीमा गरिएको परीक्षणमा ४३ जनामा ट्युमर घटेको वा पूर्ण रूपमा हराएको पाइएको थियो। अन्य प्रकारका फोक्सो क्यान्सरका बिरामीमा पनि यस्तै सकारात्मक परिणाम देखिएको छ।
अनुसन्धानकर्ताका अनुसार ‘अमिभान्तामाब’ ले क्यान्सर कोषको वृद्धि रोक्ने प्रोटिनलाई लक्षित गर्छ र शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर ट्युमरसँग लड्न सहयोग गर्छ।
औषधि प्रयोगपछि बिरामीहरूको औसत जीवन अवधि करिब १२.५ महिना पुगेको पनि रिपोर्टमा उल्लेख छ।
क्यान्सरबाट पीडित ५६ वर्षीय कार्ल वाल्शले औषधि प्रयोगपछि आफ्नो अवस्था निकै सुधारिएको र अहिले सामान्य जीवन जिउन सक्ने अवस्था आएको बताएका छन्।
हाल यो औषधि करिब ६० वटा क्लिनिकल ट्रायलमा विभिन्न प्रकारका क्यान्सरमा परीक्षण भइरहेको छ।


