
चितवन – चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको छ।
चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको दोस्रो दिन वैशाखमा सम्पन्न निर्वाचनबाट चयन भएका पदाधिकारीलाई विधिवत रूपमा कार्यभार हस्तान्तरण गरिएको हो।
नयाँ कार्यसमितिले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। संघको अध्यक्षमा डा. बद्री रिजाल चयन भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल रहेका छन्।
प्रदेश संयोजकतर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी चयन भएका छन्।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले एनएमएले नेपालको जनस्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै चिकित्सक र बिरामी दुवैलाई सहज हुने नीतिगत वातावरण निर्माण गर्न तीनै तहका सरकारलाई आग्रह गरे।
यता, संघका निवर्तमान अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सक र सरकारबीच दूरी बढ्दै गएको भन्दै स्वास्थ्य क्षेत्रका समस्याप्रति राज्य संवेदनशील नबनेको आरोप लगाए। उनले कार्यसमय, श्रम अवस्था र छात्रवृत्ति करारका चिकित्सकहरूको अवस्थाबारे गम्भीर सुधार आवश्यक रहेको धारणा राखे।


