

काठमाडौं – अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। हाल वयस्क नेपालीमध्ये २४.५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको तथ्यांक सार्वजनिक गरिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार अत्यधिक नुन र अस्वस्थकर चिल्लोयुक्त खाना, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान, मानसिक तनाव, वायु प्रदूषण तथा तीव्र सहरीकरणले उच्च रक्तचापको जोखिम बढाइरहेको छ।
उनका अनुसार नेपालमा हुने कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ। तीमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने मृत्यु २७.३६ प्रतिशत रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् र यो संख्या निरन्तर बढिरहेको छ।
विशेषगरी उच्च रक्तचाप भएका धेरै व्यक्तिलाई आफूलाई रोग लागेको जानकारी नै नहुने समस्या रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। विभिन्न उपाय अपनाएर रक्तचाप नियन्त्रण गर्न सकिने भए पनि चारमध्ये एक जनाको मात्रै रक्तचाप नियन्त्रणमा रहेको उल्लेख गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दैनिक कम्तीमा ३० देखि ४५ मिनेटसम्म शारीरिक व्यायाम गर्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन, पर्याप्त निद्रा लिन र तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ।



