
काठमाडौं – विश्वभर करोडौँ महिलालाई असर गर्ने ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ (पीसीओएस) अब नयाँ नामबाट चिनिने भएको छ । अब यसलाई ‘पोलिइन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम’ (पीएमओएस) भनिनेछ ।
यो परिवर्तन हालै प्रतिष्ठित मेडिकल जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित अन्तर्राष्ट्रिय सहमतिपत्रमार्फत घोषणा गरिएको हो । वैज्ञानिकहरूका अनुसार यो केवल नाम परिवर्तन मात्र नभई महिलाको स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमै आएको ठूलो परिवर्तन हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब १० देखि १३ प्रतिशत महिलामा यो समस्या देखिन्छ । अनुमानित १७ करोडभन्दा बढी महिला यसबाट प्रभावित छन् । तर चिन्ताको विषय के छ भने, प्रभावितमध्ये करिब ७० प्रतिशत महिलामा समस्या पहिचान नै हुन सकेको छैन ।
दशकौँसम्म यो रोगलाई ‘ओभरीमा सिस्ट’ हुने समस्या भनेर बुझिँदै आएको थियो । तर पछिल्ला अनुसन्धानहरूले त्यो बुझाइ अपूरो भएको देखाएपछि वैज्ञानिकहरूले यसको नाम परिवर्तन गर्ने निर्णय गरेका हुन् ।
अष्ट्रेलियन एन्डोक्राइनोलोजिस्ट प्रोफेसर हेलेना टिडेको नेतृत्वमा गरिएको अनुसन्धानपछि नयाँ नाम प्रस्ताव गरिएको हो । यो प्रक्रियामा विश्वका ६ महादेशका २२ हजारभन्दा बढी व्यक्ति सहभागी भएका थिए भने ५६ वटा बिरामी र पेशागत संस्थाले पनि सहकार्य गरेका थिए ।
प्रोफेसर टिडेका अनुसार पुरानो नामले रोगको वास्तविक स्वरूपलाई सीमित बनाइदिएको थियो ।
‘पीसीओएस भन्ने नामले धेरैले यसलाई केवल पाठेघर वा ओभरीमा सिस्ट हुने समस्या भनेर बुझ्थे,’ उनले भनेकी छन्, ‘तर वास्तवमा यो शरीरका धेरै प्रणालीसँग जोडिएको जटिल हर्मोनल र मेटाबोलिक अवस्था हो ।’
विशेषज्ञहरूका अनुसार पुरानो नाम ऐतिहासिक भ्रमका कारण राखिएको थियो । सुरुमा चिकित्सकहरूले अल्ट्रासाउन्डमार्फत अण्डाशयमा साना तरल पदार्थयुक्त संरचना देखेपछि त्यसलाई ‘सिस्ट’ ठानेका थिए । पछि अनुसन्धानले ती संरचना वास्तविक सिस्ट नभई विकासको सुरुवाती चरणमै रोकिएका अपरिपक्व अण्डकोष अर्थात् फोलिकल भएको देखायो ।
यसबाहेक, धेरै महिलामा पीसीओएसको निदान हुँदासमेत ओभरीमा त्यस्ता संरचना नदेखिने तथ्यसमेत सार्वजनिक भएको थियो ।
वैज्ञानिकहरूका अनुसार यो रोगले केवल प्रजनन प्रणालीमा असर गर्दैन । यसले शरीरमा पुरुष हर्मोन (एन्ड्रोजन) बढाउने, इन्सुलिन प्रतिरोध गराउने, मोटोपन बढाउने, मधुमेह, कलेजोमा बोसो जम्ने, मुटुरोग, निद्रासम्बन्धी समस्या, चिन्ता, डिप्रेसन र पाठेघरको क्यान्सरसम्मको जोखिम बढाउन सक्छ ।
यही कारण नयाँ नाममा ‘पोलिइन्डोक्राइन’ र ‘मेटाबोलिक’ शब्द थपिएको हो ।
‘पोलिइन्डोक्राइन’ शब्दले शरीरका विभिन्न हर्मोन प्रणाली प्रभावित हुने अवस्थालाई जनाउँछ भने ‘मेटाबोलिक’ले मधुमेह, मोटोपन र मुटुरोगजस्ता दीर्घकालीन जोखिमलाई संकेत गर्छ । ‘ओभेरियन’ शब्दले भने डिम्ब निष्काशन र बाँझोपनसँगको सम्बन्धलाई कायम राखेको छ ।
विशेषज्ञहरूका अनुसार पुरानो नामकै कारण धेरै महिलामा रोग पहिचान ढिलो हुने गरेको थियो । औसतमा महिलालाई सही निदान पाउन दुई वर्षभन्दा बढी समय लाग्ने गरेको अध्ययनहरूले देखाएका छन् । धेरै महिलालाई सुरुमा केवल तौलको समस्या वा गर्भधारणसम्बन्धी समस्या भनेर बेवास्ता गरिन्थ्यो ।
वैज्ञानिकहरूका अनुसार अब नयाँ नामले चिकित्सकहरूलाई रोगलाई सम्पूर्ण शरीरसँग जोडिएको अवस्थाका रूपमा बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यसले रगतमा चिनीको मात्रा, रक्तचाप, मानसिक स्वास्थ्य र हर्मोन अवस्थासमेत नियमित परीक्षण गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
विशेषज्ञहरूका अनुसार किशोरी अवस्थामै महिनावारी अनियमित हुनु, अनुहारमा रौं बढ्नु, अत्यधिक डन्डीफोर आउनु वा तौल बढ्नुजस्ता संकेत देखिए पनि धेरैले सामान्य परिवर्तन ठानेर बेवास्ता गर्ने गरेका छन् । नयाँ नामले प्रारम्भिक पहिचान र उपचारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चिकित्सकहरूका अनुसार पीएमओएस पूर्ण रूपमा निको हुने रोग भने होइन । तर जीवनशैली सुधारमार्फत धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । नियमित व्यायाम, स्वस्थ खानपान, पर्याप्त निद्रा र तनाव नियन्त्रणलाई यसको मुख्य उपचार मानिन्छ ।
आवश्यक परे हर्मोन सन्तुलन मिलाउने औषधि, इन्सुलिन प्रतिरोध कम गर्ने औषधि तथा बाँझोपनसम्बन्धी उपचारसमेत गर्न सकिन्छ । पछिल्ला वर्षहरूमा तौल नियन्त्रण र रगतमा चिनीको मात्रा व्यवस्थापन गर्न प्रयोग हुने जीएलपी–१ रिसेप्टर एगोनिस्ट औषधिको प्रयोगसमेत बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।
विशेषज्ञहरूका अनुसार नाम परिवर्तनसँगै अब आगामी तीन वर्षभित्र विश्वभरका क्लिनिकल गाइडलाइन, मेडिकल शिक्षा र रोग वर्गीकरण प्रणालीमा समेत नयाँ नाम लागू गरिनेछ ।


