
काठमाडौं– अफ्रिकी देश कंगो र युगान्डामा इबोला भाइरस तीव्र रूपमा फैलिन थालेपछि नेपालमा पनि सतर्कता बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालमा हाल इबोलाको जोखिम न्यून रहे पनि भविष्यमा आयातित सङ्क्रमणको सम्भावना नकार्न नसकिने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हाल फैलिरहेको इबोला प्रकोपलाई “अन्तर्राष्ट्रिय महत्त्वको जनस्वास्थ्य आपत्काल” घोषणा गरिसकेको छ। मे १७ सम्मको विवरणअनुसार प्रकोपका कारण ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शङ्कास्पद सङ्क्रमित भेटिएका छन्।
डा. पुनका अनुसार अहिले फैलिरहेको इबोला ‘बुन्दिबुग्यो भाइरस’ का कारण भएको हो। यो भाइरस पहिलोपटक सन् २००७ मा युगान्डाको बुन्दिबुग्यो क्षेत्रमा देखिएको थियो। विभिन्न अध्ययनअनुसार यसको मृत्युदर २५ देखि ४० प्रतिशतसम्म पुग्न सक्छ। हालको प्रकोपमा करिब ३३ प्रतिशत मृत्युदर देखिएको छ।
उनले पछिल्ला वर्षहरूमा रोजगार, भ्रमण तथा अन्य कारणले अफ्रिकी देश जाने नेपालीको संख्या बढ्दै गएको बताए। येलो फिभर खोप लगाउन आउनेहरूको बढ्दो चापले पनि अफ्रिकातर्फ नेपालीको आवतजावत बढेको संकेत गर्ने उनको भनाइ छ।
“अहिले नेपालमा जोखिम कम छ, तर शून्य छैन,” डा. पुनले भने, “विश्वव्यापी आवतजावत बढिरहेको अवस्थामा अफ्रिकामा देखिएका सङ्क्रामक रोग नेपाल भित्रिन सक्ने सम्भावना रहन्छ।”
उनका अनुसार इबोला सङ्क्रमण सुरुमा ज्वरो, टाउको दुख्ने, घाँटी दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता, पखाला र रक्तस्रावजस्ता लक्षणबाट देखिन्छ। प्रारम्भिक लक्षण औलो, डेंगु र टाइफाइडसँग मिल्दोजुल्दो हुने भएकाले पहिचान चुनौतीपूर्ण बन्ने उनले बताए।
डा. पुनले स्वास्थ्यकर्मीहरू नै उच्च जोखिममा रहने भएकाले तयारी र प्रशिक्षण अत्यावश्यक रहेको उल्लेख गरे। विगतमा अफ्रिकामा इबोला फैलिँदा धेरै स्वास्थ्यकर्मी सङ्क्रमित भएको उदाहरण दिँदै उनले नेपालमा पनि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग तथा सरुवा रोग व्यवस्थापनसम्बन्धी तयारीलाई निरन्तरता दिनुपर्ने बताए।
उनले कोभिड–१९ महामारीपछि टेकु अस्पताललाई आधुनिक सरुवा रोग अस्पतालका रूपमा स्तरोन्नति गर्ने सरकारी घोषणा अझै कार्यान्वयनमा नआएको भन्दै चिन्ता व्यक्त गरे।
“नेपाललाई आधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल र ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)’ जस्तो संस्था आवश्यक भइसकेको छ,” उनले भने, “प्रकोप आएपछि मात्रै होइन, पहिल्यै तयारी गर्न सके सम्भावित क्षति धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।”


