
नेपालगन्ज– बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। पालिकाभित्र खोप लगाउने उमेर पुगेका तर छुटेका सबै बालबालिकालाई खोजी गरी आवश्यक खोप लगाएपछि उक्त घोषणा गरिएको हो।
डुडुवा गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे।
कार्यक्रममा बोल्दै उनले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको उल्लेख गर्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सामूहिक पहल आवश्यक रहेको बताए। उनले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन पालिका प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अनिवार्य रहेको उल्लेख गरे।
स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीका अनुसार पालिकाभित्र १५ वर्षमुनिका १ हजार ५२ जना तथा १६ देखि २३ महिनाभित्रका ८३१ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका–३ का वडा अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डे, वडा सदस्य सुष्मा यादव, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा सेवा निवृत्त भएका पाँच जना कर्मचारीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सिनियर अनमी संगीता वर्मा, पवनकुमारी बाहुनी, सुमनलता सिंह, खड्गनाथ सापकोटा तथा महिला स्वास्थ्य स्वयंसेविका प्रेमकुमारी अधिकारी रहेका छन्।
यस्तै, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियानमा योगदान पुर्याउने स्वास्थ्य केन्द्र प्रमुख तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सम्मान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।


