
काठमाडौं– आज विश्व उच्च रक्तचाप दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमसहित नेपालसहित विश्वभर मनाइँदैछ। बदलिँदो जीवनशैली, मानसिक तनाव, प्रशोधित तथा प्याकेटका खाद्य पदार्थको अत्यधिक प्रयोग र शारीरिक निष्क्रियताका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामीको संख्या तीव्र रूपमा बढिरहेको चिकित्सकहरू बताउँछन्।
हरेक वर्ष मे १७ मा मनाइने यो दिवस उच्च रक्तचापबारे जनचेतना फैलाउने उद्देश्यले मनाउने गरिन्छ। विशेषज्ञहरूका अनुसार उमेरको प्रभाव, अस्वस्थ खानपान, व्यायामको कमी, वातावरणीय असर तथा वंशाणुगत कारणले पनि उच्च रक्तचापको जोखिम बढिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार नेपालमा मुटुरोग मृत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ। मुटुरोगको जोखिम बढाउनुमा उच्च रक्तचापलाई मुख्य कारक मानिएको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्सालका अनुसार नेपालमा हालसम्म ठूलो स्तरको अध्ययन नभए पनि विभिन्न नमुना अध्ययनले करिब ३० प्रतिशत वयस्क नेपालीमा उच्च रक्तचापको समस्या रहेको देखाएका छन्।
उनका अनुसार धूम्रपान, मद्यपान र अस्वस्थ खानपानजस्ता पुराना कारणसँगै पछिल्ला वर्षमा आधुनिक जीवनशैलीले पनि उच्च रक्तचापको जोखिम बढाएको छ।
डा. लम्सालका अनुसार उच्च रक्तचाप नियन्त्रणका लागि औषधोपचारसँगै स्वस्थ र सक्रिय जीवनशैली अत्यावश्यक छ। नियमित व्यायाम, योग, ध्यान तथा तनाव व्यवस्थापनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने उनले बताए।
उनका अनुसार खानपानमा विशेष ध्यान दिन आवश्यक छ। नुन कम खाने, थप नुन नहाल्ने, प्रशोधित तथा प्याकेटका खानेकुरा कम सेवन गर्ने, चिप्स, नम्किन, बिस्कुट, बटर र चिजजस्ता बढी नुनयुक्त पदार्थ घटाउने बानी बसाल्नुपर्छ। स्वादका लागि नुनको सट्टा कागती, मरिच वा प्राकृतिक मसला प्रयोग गर्न सकिने सुझाव उनले दिएका छन्।


