
काठमाडौं– लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा फैलिएको नयाँ इबोला प्रकोपमा मृत्यु हुनेको संख्या ८० पुगेको छ। कङ्गोको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।
स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाका अनुसार विशेष प्रयोगशाला परीक्षणबाट गत साताको अन्त्यतिर इबोला भाइरसका आठ प्रारम्भिक संक्रमित पुष्टि भएका छन्। संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनिया स्वास्थ्य क्षेत्रमा देखिएको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हाल कम्तीमा २४६ शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ। संक्रमण थप फैलिन नदिन सरकारले जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय बनाएको जनाएको छ।
सरकारले प्रभावित क्षेत्रमा विकेन्द्रीकृत परीक्षण सेवा विस्तार गर्नुका साथै महामारी निगरानी प्रणाली सुदृढ गर्ने र द्रुत प्रतिक्रिया टोली परिचालन गर्ने काम तीव्र बनाएको बताएको छ।
अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले उत्तरपूर्वी इटुरी प्रान्तमा देखिएको प्रकोपलाई क्षेत्रीय स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेपछि नियन्त्रणका उपायहरू थप कडा पारिएको जनाइएको छ।


