
आज विश्व नर्सिङ दिवस । ‘लेडि विथ द ल्याम्प’ भनेर विश्वभर फ्लोरेन्स नाइटिंगलको जन्मदिवस मे १२ मा नर्सिङ दिवस मनाउने गरिएको छ । आधुनिक नर्सिङ सेवाकी जननीका रूपमा चिनिन्छ । उनले नर्सिङ पेशालाई केवल बिरामीको हेरचाह गर्ने कामबाट उठाएर वैज्ञानिक, व्यवस्थित र सम्मानित सेवाको रूपमा स्थापित गरिन् । आज विश्वभर नर्सिङ अभ्यासमा देखिने धेरै आधारभूत सिद्धान्तहरू उनकै योगदानसँग जोडिएका छन् । नेपालजस्तो विकासोन्मुख देशमा समेत उनको विचार र कार्यको प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्म सन् १८२० मा इटालीको फ्लोरेन्स शहरमा भएको थियो । त्यही शहरको नामबाट उनको नाम “फ्लोरेन्स” राखिएको थियो । सम्पन्न परिवारमा जन्मिए पनि उनले आरामदायी जीवनभन्दा मानव सेवाको बाटो रोजिन् । त्यतिबेला नर्सिङलाई सम्मानित पेशा मानिँदैनथ्यो । तर उनले समाजको सोच परिवर्तन गर्दै नर्सिङलाई स्वास्थ्य सेवाको मेरुदण्ड बनाइन् ।

उनले विशेष रूपमा क्रिमियन युद्धका क्रममा घाइते सैनिकहरूको सेवा गरेर विश्वव्यापी चर्चा पाइन् । युद्धका बेला अस्पतालहरू अत्यन्त फोहोर, अव्यवस्थित र संक्रमणयुक्त थिए । धेरै सैनिकहरू युद्धमा लागेको चोटभन्दा पनि संक्रमण र सरसफाइको अभावका कारण मर्ने गर्थे । फ्लोरेन्सले अस्पतालमा सफाइ, स्वच्छ पानी, उचित हावापानी र व्यवस्थित बिरामी व्यवस्थापनमा ध्यान दिइन् । यसले मृत्यु दर उल्लेखनीय रूपमा घटायो ।
रातिको समयमा हातमा बत्ती लिएर बिरामीहरूको अवस्था बुझ्न जाने भएकाले उनलाई “द लेडी विथ द ल्याम्प” भनेर पनि चिनिन थालियो । तर उनको योगदान केवल सहानुभूति र सेवामा मात्र सीमित थिएन । उनले तथ्यांक र अनुसन्धानलाई स्वास्थ्य सेवासँग जोडिन् । उनले अस्पतालको अवस्था र मृत्यु दरको तथ्यांक विश्लेषण गरी सरकारले स्वास्थ्य प्रणाली सुधार गर्नुपर्ने आवश्यकता प्रमाणसहित देखाइन् । यसले आधुनिक सार्वजनिक स्वास्थ्य व्यवस्थापनको आधार तयार गर्यो ।
आजको आधुनिक नर्सिङ अभ्यासमा फ्लोरेन्स नाइटिङ्गेलका सिद्धान्तहरू अझै सान्दर्भिक छन् । अहिले अस्पतालहरूमा संक्रमण नियन्त्रण, हात धुने अभ्यास, बिरामी सुरक्षा, नर्सिङ डकुमेन्टेसन, मानसिक समर्थन, स्वास्थ्य शिक्षा र समुदायस्तरीय सेवा जस्ता अभ्यासहरूमा उनको सोचको प्रभाव देखिन्छ । आधुनिक नर्सहरू केवल चिकित्सकका सहयोगी मात्र नभई स्वतन्त्र स्वास्थ्यकर्मी, परामर्शदाता, अनुसन्धानकर्ता र समुदाय शिक्षाका रूपमा स्थापित भएका छन् ।
नेपालको सन्दर्भमा हेर्दा पनि नाइटिङ्गेलको योगदान निकै महत्त्वपूर्ण देखिन्छ । नेपालमा नर्सिङ पेशाले पछिल्ला दशकहरूमा उल्लेखनीय विकास गरेको छ । सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य सेवामा नेपाली नर्सहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । विशेषगरी ऋइख्क्ष्म्(ज्ञढ उबलमझष्अ का समयमा नेपाली नर्सहरूको योगदान अत्यन्त प्रशंसनीय रह्यो । जोखिमपूर्ण अवस्थामा समेत उनीहरूले बिरामीको सेवामा अग्रपंक्तिमा रहेर काम गरे ।
तर नेपालमा अझै पनि नर्सिङ क्षेत्रमा विभिन्न चुनौतीहरू छन् । पर्याप्त जनशक्ति अभाव, कम तलब, अत्यधिक कार्यचाप, विदेश पलायन र मानसिक तनाव जस्ता समस्या विद्यमान छन् । कतिपय अवस्थामा नर्सहरूको श्रमअनुसार सम्मान र अवसर नपाएको गुनासो पनि सुनिन्छ । फ्लोरेन्स नाइटिङ्गेलले नर्सिङलाई सम्मानित र व्यावसायिक क्षेत्र बनाउन संघर्ष गरेझैँ नेपालमा पनि नर्सहरूको पेशागत सुरक्षा, क्षमता विकास र सम्मानमा थप ध्यान दिन आवश्यक देखिन्छ ।
नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा नर्सहरूको भूमिका अझै महत्वपूर्ण छ । मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, पोषण शिक्षा र जनचेतनामूलक कार्यक्रमहरूमा नर्सहरू समुदायसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । यस अर्थमा फ्लोरेन्स नाइटिङ्गेलले अघि सारेको “सेवा, अनुशासन र मानवीयता” को सिद्धान्त नेपालमा अझै जीवित रहेको अनुभूति हुन्छ ।
अन्ततः फ्लोरेन्स नाइटिङ्गेल केवल इतिहासकी एक नर्स होइनन्, उनी आधुनिक स्वास्थ्य सेवाको सोच परिवर्तन गर्ने प्रेरणादायी व्यक्तित्व हुन् । उनले सिकाएको सेवा भावना, वैज्ञानिक सोच र मानवप्रतिको समर्पण आज पनि विश्वभरका नर्सहरूका लागि मार्गदर्शन बनेको छ । नेपालका नर्सिङकर्मीहरूका लागि पनि उनको जीवन र योगदान प्रेरणाको स्रोत बनेको देखिन्छ ।


