
काठमाडौं – नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडका अध्यक्ष तथा वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ले ‘सर्टिफिकेट अफ एमिनन्स’ प्रदान गरेको छ।
अस्पतालले जारी गरेको जानकारीअनुसार यो अन्तर्राष्ट्रिय सम्मान डा. श्रेष्ठको दूरदर्शी नेतृत्व र नेपालमा अन्कोलोजी सेवाको रूपान्तरणमा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो। साथै, देशभित्रै विश्वस्तरीय क्यान्सर उपचार सेवा विस्तार गर्दै बिरामीहरूलाई आशा दिलाउने उनको निरन्तर प्रयासलाई समेत उक्त सम्मानले उजागर गरेको जनाइएको छ।
डा. श्रेष्ठको नेतृत्वमा नेपाल क्यान्सर हस्पिटलले क्यान्सर उपचार, अनुसन्धान तथा सेवा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। पछिल्ला वर्षहरूमा अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत क्यान्सर उपचारलाई सहज र पहुँचयोग्य बनाउने दिशामा संस्थाले उल्लेखनीय काम गरेको बताइएको छ।
अस्पताल परिवारले यस उपलब्धिलाई गौरवपूर्ण मान्दै डा. श्रेष्ठको नेतृत्वले सम्पूर्ण टिमलाई थप प्रेरणा दिएको जनाएको छ। साथै, यो सम्मानले नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा प्रवाह गर्ने प्रतिबद्धतालाई अझ मजबुत बनाएको उल्लेख गरिएको छ।



