
काठमाडौं – चितवनस्थित भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन्।
भरतपुर महानगरपालिका–१२ निवासी पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई स्वेच्छाले पद त्याग्न गरेको आग्रहलाई सम्मान गर्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन्।
उनले राजीनामा पत्रमा २०८२ चैत १२ गतेसम्म सरकारले नियुक्त पदाधिकारीहरूलाई स्वेच्छाले राजीनामा दिन गरेको आग्रह तथा सामाजिक सञ्जालमा उठेका मागलाई ध्यानमा राख्दै २०८३ वैशाख २० गतेदेखि लागू हुने गरी अवैतनिक अध्यक्ष पदबाट अलग हुने निर्णय गरेको बताएका छन्।
पौडेलले अध्यक्षका रूपमा कुनै पनि आर्थिक लाभ नलिने प्रतिबद्धताअनुसार बैठक भत्ता वापत लिएको रकमसमेत अस्पतालकै खातामा जम्मा गरी आवश्यक भौचर पेश गर्ने जानकारी दिएका छन्।
नाक, कान, घाँटी (ईएनटी) रोग विशेषज्ञ रहेका प्रा.डा. पौडेलले २०५९ सालदेखि २०६८ सालसम्म उक्त क्षेत्रमा सेवा प्रदान गरेका थिए।



