
नेपालगञ्ज- बाँकेको भेरी अस्पतालका चिकित्सकहरू अस्पताल प्रशासनमाथि भएको दुर्व्यवहार र धम्कीको विरोधमा आन्दोलनमा उत्रिएका छन्। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीसहितका चिकित्सकमाथि हातपातको प्रयास, गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको घटनापछि उनीहरूले दोषीमाथि कडा कारबाही र सुरक्षा सुनिश्चितताको माग गरेका हुन्।
जिल्लाको बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणलाई लिएर सोमबार एक समूह डा. सुवेदीको कार्यकक्षमै पुगेको थियो। सो क्रममा उनीहरूमाथि हातपातको प्रयास गर्नुका साथै दुर्व्यवहार गरिएको अस्पताल प्रशासनले जनाएको छ।
मंगलबार अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलगायतका चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिइएको उल्लेख छ। घटनापछि चिकित्सकहरू असुरक्षित महसुस गर्दै आन्दोलनमा उत्रिएका हुन्।
अस्पताल प्रमुख डा. सुवेदीका अनुसार दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म नियमित सेवा सञ्चालन गर्न सकिने अवस्था छैन। असुरक्षाका कारण सोमबार दिउँसोदेखि ओपिडी सेवा बन्द गरिएको उनले जानकारी दिए।
उपचारका क्रममा बिरामीको मृत्यु भएमा असन्तुष्टि भए कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुनु दुःखद भएको डा. सुवेदीले बताए। “यस्तो अवस्थाले हामीलाई काम गर्न असहज बनाएको छ,” उनले भने।
यता मृतकका परिवारले भने उपचारमा संलग्न चिकित्सकमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। मृतकका छोरा सुरेश विकले आफूमाथि लागेको हातपातको आरोप अस्वीकार गरेका छन्।
उक्त घटना वैशाख ६ गते उपचारका लागि अस्पताल भर्ना भएकी दिलसरा विकको वैशाख १३ गते मृत्यु भएपछि भएको हो। घटनापछि अस्पतालको सेवा प्रभावित बनेको छ।




