
काठमाडौँ – सरकारले देशभरिका बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बालबालिकाको उचाई र तौल नापेर पोषणको अवस्था पत्ता लगाउन उक्त अभियान सुरु गरिने बताए। ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने अभियान सञ्चालन गरिने उनको भनाइ छ। अभियान यही वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।
यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र मार्फत ‘तयारी उपचारात्मक खाना’ निःशुल्क उपलब्ध गराइन्छ । अभियान स्वास्थ्य संस्था तथा खोप केन्द्रहरु, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुनेछ।
शाखा प्रमुख थापाका अनुसार बच्चामा मध्यमसिघ्र कुपोषण र कडाशिघ्र कुपोषण रहेका छन् । मध्यमशिघ्र कुपोषण ३० देखि ४० प्रतिशत र कडाशिघ्र कुपोषण एक प्रतिशत बालबालिकामा रहेका छन्। मध्यमशिघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने, लुरे तथा कडाशिघ्र कुपोषण बालबालिका ख्याउटे, करङ देखिने खालको हुने गर्दछन्।



