

भरतपुर- चितवनस्थित भरतपुर अस्पतालले औषधि प्रयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन हस्पिटल फर्मुलरी सार्वजनिक गरेको छ। मङ्गलवार फर्मुलरी सार्वजनिक गर्ने क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले र डीटीसी अध्यक्ष डा. रमेश भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बगालेले फर्मुलरी उत्कृष्ट रूपमा तयार भएको भन्दै सम्पादन तथा प्रकाशन टोलीलाई धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा आवश्यक परिमार्जनसहित यसको निरन्तरता कायम गरिने बताए। साथै, औषधि प्रिस्क्रिप्सन प्रक्रियामा फर्मुलरीलाई कडाइका साथ लागू गरिने पनि स्पष्ट पारे। कुशल फार्मेसी अभ्यास मार्फत बिरामीको प्रकृति हेरी वर्गीकृत सेवा प्रदान गरेकोमा उनले फार्मेसीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई धन्यवाद समेत व्यक्त गरे ।

फार्मेसी प्रमुख सविनराज लामिछानेका अनुसार फर्मुलरीमा भरतपुर अस्पताल फार्मेसीमा उपलब्ध औषधिहरूको विस्तृत विवरण समावेश गरिएको छ। जसमा औषधिको उपयोगिता, सम्भावित नकारात्मक असर, प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, निषेध अवस्था, भण्डारण विधि, गर्भवती अवस्थामा प्रयोग गर्न मिल्ने/नमिल्ने अवस्था लगायतका महत्वपूर्ण जानकारी राखिएको छ।
यसैगरी, फर्मुलरीमा विशेष उपचारसम्बन्धी गाइडलाइन, नर्सिङ सावधानी, औषधि स्वास्थ्य बिमामा समावेश भए/नभएको विवरणसमेत समेटिएको फार्मेसी प्रमुख लामिछानेले जानकारी दिए। यो फर्मुलरी अस्पतालको पाँचौँ संस्करण हो।
उक्त फर्मुलरी क्यूआर कोड स्क्यान गरेर पनि अध्ययन गर्न सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।


