
काठमाडौँ- सरकारी आदेशको खुलेआम उल्लंघन गर्दै किरा परेको र दुर्गन्धित खाजा बिक्री गरेको आरोपमा काठमाडौँस्थित बागमती स्विट्स प्रा.लि.लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत अखाद्य वस्तु बिक्री गर्नुका साथै प्रशासनको निर्देशनलाई बेवास्ता गरेको पाइएपछि विभागले कडा कारबाही अघि बढाएको हो।
घटनाको सुरुवात चैत ३० गते भएको थियो, जब बागमती स्विट्सबाट उत्पादित खाजाको प्याकेटमा किरा भेटिएको र दुर्गन्ध आएको भन्दै विभागमा उजुरी परेको थियो। उजुरीपछि विभागका खाद्य निरीक्षण अधिकारीहरूले तत्काल अनुगमन गरी अर्को व्यवस्था नभएसम्म उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिएका थिए।
तर, उक्त निर्देशनलाई चुनौती दिँदै कम्पनीले लुकीछिपी विभिन्न संघसंस्थामा खाजा आपूर्ति जारी राखेको सूचना वैशाख ३ गते विभागमा पुगेको थियो। त्यसपछि विभागको र्यापिड रेस्पोन्स टिम (आरआरटी), काठमाडौँ डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले उद्योगमा छापा मारेको थियो।
छापाका क्रममा त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयमा १४ प्याकेट र चाल्नाखेल अस्पतालमा २५ प्याकेट दूषित खाजा पुगिसकेको फेला परेको थियाे। साथै अन्य स्थानमा पठाउन तयारी अवस्थामा रहेको थप ७ प्याकेटसहित कुल ५१ प्याकेट खाजा नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
विभागका अनुसार पूर्व आदेश उल्लंघन गर्दै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खाद्य पदार्थ बिक्री गरिएको पुष्टि भएपछि उद्योगको उत्पादन स्थल र कारखाना अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा सिल गरिएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार बागमती स्विट्सविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीहरूविरुद्ध अनुगमनलाई अझ कडाइ गरिने विभागले चेतावनी दिएको छ।


