

काठमाडौँ – अटिजम स्पेक्ट्रम डिसअर्डरलाई न्यूरोलोजिकल विकाससम्बन्धी अवस्था मानिन्छ, जसले व्यक्तिको सञ्चार क्षमता, सामाजिक अन्तरक्रिया र व्यवहारमा प्रभाव पार्ने चिकित्सकीय तथा शैक्षिक विज्ञहरूले बताएका छन् । ‘स्पेक्ट्रम’ शब्दले यस अवस्थाका लक्षणहरू व्यक्तिपिच्छे फरक–फरक हुने जनाउँछ ।
अटिजम भएका सबै व्यक्तिलाई एउटै मापदण्डमा राखेर मूल्याङ्कन गर्न नसकिने बताइन्छ । केहीलाई न्यूनतम सहयोग मात्र आवश्यक पर्छ भने केहीलाई दैनिक जीवन सञ्चालनका लागि व्यापक सहयोग चाहिन्छ । विशेषगरी, उनीहरूमा सञ्चारसम्बन्धी चुनौती देखिन्छ, जसका कारण आफ्ना भावना वा चाहनाहरू व्यक्त गर्न कठिनाइ हुन्छ ।
भावना अभिव्यक्त गर्न नसक्दा निराशा उत्पन्न हुन सक्छ, जसले व्यवहारमा विभिन्न प्रतिक्रियाहरू देखिन सक्छन् । सामाजिक अन्तरक्रियामा पनि कठिनाइ हुने, साथी बनाउन गाह्रो हुने, सामाजिक नियमहरू बुझ्न समस्या हुने तथा दैनिक दिनचर्यामा सानो परिवर्तन हुँदा असहज महसुस हुने जस्ता लक्षणहरू देखिन्छन् । उनीहरू प्रायः निश्चित रुटिनमा अभ्यस्त हुन्छन् र परिवर्तन हुँदा तनाव अनुभव गर्छन् ।
अटिजम भएका व्यक्तिहरूमा दोहोरिने व्यवहार पनि देखिन सक्छ, जस्तै एउटै क्रिया बारम्बार गर्नु, हात हल्लाउनु वा ताली बजाउनु आदि । साथै, उनीहरूमा संवेदनशीलता उच्च हुने भएकाले आवाज, उज्यालो वा वातावरणीय उत्तेजनाप्रति तीव्र प्रतिक्रिया दिन सक्छन् ।
अटिजमको कारण पूर्ण रूपमा स्पष्ट नभए पनि यसलाई मुख्यतः आनुवंशिक तथा मस्तिष्क विकाससँग सम्बन्धित मानिन्छ । विज्ञहरूका अनुसार अटिजम कुनै रोग होइन र यो सरुवा पनि हुँदैन । त्यसैले यसको दोष अभिभावक वा पालनपोषणलाई दिनु गलत हुने बताइन्छ । समाजमा प्रचलित पूजा–पाठ वा अन्य उपायबाट अटिजम ‘ठीक हुने’ भन्ने धारणा वैज्ञानिक रूपमा प्रमाणित नभएको उल्लेख छ ।
अटिजम भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप अत्यन्त प्रभावकारी हुने मानिन्छ । स्पीच थेरापी, व्यवहारिक थेरापी, अकुपेशनल थेरापी जस्ता सेवाहरूले उनीहरूको सञ्चार, व्यवहार तथा दैनिक जीवन सीप विकासमा सहयोग पुर्याउँछन् । समयमै उचित सहयोग पाएमा उनीहरूले पनि सामान्य जीवनयापन गर्न सक्षम हुन सक्छन् ।
विज्ञहरूका अनुसार अटिजम भएका व्यक्तिहरू प्रायः प्रतिभाशाली, संवेदनशील र सृजनशील हुन्छन् । उनीहरूको फरक सोच्ने शैली नै उनीहरूको विशेषता मानिन्छ, जसबाट धैर्यता, लगनशीलता र सकारात्मक दृष्टिकोण जस्ता गुण सिक्न सकिन्छ ।
विकसित देशहरूमा अटिजम तथा अन्य विकाससम्बन्धी फरक क्षमता भएका बालबालिकाका लागि समावेशी शिक्षा प्रणाली लागू गरिएको छ, जहाँ शैक्षिक सहायक, विशेष कक्षा, यातायात सुविधा तथा सामुदायिक कार्यक्रममार्फत सहयोग प्रदान गरिन्छ । यसले उनीहरूलाई आत्मनिर्भर बन्न र समाजमा सक्रिय सहभागिता जनाउन मद्दत गर्छ ।
नेपालजस्ता विकासशील देशहरूमा भने अझै पनि अटिजम भएका बालबालिकाका लागि पर्याप्त शैक्षिक तथा सामाजिक अवसरको अभाव देखिन्छ । धेरै बालबालिकाले विद्यालयमा भर्ना हुन कठिनाइ भोगिरहेका छन् । यस सन्दर्भमा विशेष शिक्षा केन्द्र स्थापना गर्ने, समावेशी शिक्षा प्रणाली विस्तार गर्ने र आवश्यक स्रोत–साधन उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
अटिजमलाई रोगका रूपमा होइन, फरक क्षमताका रूपमा बुझेर उचित सहयोग, समझदारी र अवसर प्रदान गर्न सकेमा अटिजम भएका व्यक्तिहरूले पनि अर्थपूर्ण र आत्मनिर्भर जीवनयापन गर्न सक्ने विज्ञहरूको भनाइ छ ।


