कैलाली- सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ। प्रदेशभर ३० हजार ७८६ जना बालिकालाई लक्षित गर्दै यो खोप अभियान सञ्चालन गरिएको हो।
स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य निर्देशक मिनराज जोशीका अनुसार कैलालीमा सबैभन्दा बढी १० हजार ३४३ जना बालिकालाई खोप दिइनेछ। यस्तै, कञ्चनपुरमा पाँच हजार ५५३, डोटीमा दुई हजार ५८३, बाजुरामा एक हजार ८०६, बझाङमा दुई हजार ४९६, अछाममा दुई हजार ५७८, डडेल्धुरामा एक हजार ५१६, दार्चुलामा एक हजार ४५८ र बैतडीमा दुई हजार ४५३ जना बालिकालाई खोप लगाइनेछ।
निर्देशक जोशीका अनुसार प्रदेशभरिका विद्यालयमा पुगेर सञ्चालन गरिने यो खोप कार्यक्रम माघ २७ गतेदेखि फागुन २ गतेसम्म चल्नेछ। तोकिएको अवधिमा खोप लगाउन छुटेका बालिकाले भने फागुन १५ गतेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने व्यवस्था गरिएको छ।
एचपिभी भाइरसका विभिन्न प्रकारमध्ये १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने उच्च जोखिम रहेको भन्दै सरकारले स्थानीय तहसँगको समन्वयमा यो खोप सेवा उपलब्ध गराएको हो।
यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई दिइनेछ। निर्देशक जोशीले गत वर्ष अभियानकै रूपमा सञ्चालन गरिएको खोप कार्यक्रममा सुदूरपश्चिम प्रदेशभर एक लाख ४६ हजार ६१२ जना बालिकाले खोप लगाएको जानकारी दिए।
उनका अनुसार गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप अभियानमा समेटिएको थियो। “यस वर्ष भने कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्ष उमेरसम्मका बालिकालाई लक्षित गरिएको छ,” उनले भने।
यस्तै, गत वर्षको खोप कार्यक्रममा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले पनि यो खोप पाउने व्यवस्था मिलाइएको छ।
यस वर्ष सरकारले देशभर करिब चार लाख छात्रालाई एचपिभी खोप दिने लक्ष्य राखेको छ। पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिन खोप, स्क्रिनिङ र उपचार गरी तीन चरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने सरकारको योजना छ। यी तीनै चरणमा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको उद्देश्य रहेको छ।
निर्देशक जोशीका अनुसार १० देखि १४ वर्ष उमेर समूहका किशोरीले एचपिभी खोप लगाउनु क्यान्सर रोकथामको पहिलो उपाय हो। दोस्रो चरणमा ३० वर्षभन्दा माथिका महिलाले नियमित परीक्षण (स्क्रिनिङ) गराउनुपर्ने र तेस्रो चरणमा रोग पहिचान भएका महिलाको समयमै उचित उपचार हुनुपर्ने उनले बताए।
नेपालमा हरेक वर्ष करिब एक हजार ३१३ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ। परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार यही क्यान्सरका कारण नेपालमा दैनिक चार महिलाको मृत्यु हुने गरेको छ।
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणका कारण हुने गर्दछ। संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने यो भाइरसको सङ्क्रमण लामो समय, करिब २० वर्षसम्म रहिरहेमा क्यान्सरको रूप लिन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।







