ललितपुर – तिलगंगा सर्जिकल आँखा केन्द्र सेवाको दोस्राे वर्षमा प्रवेश गरेको छ।
चापागाउँ र वरपरका क्षेत्रका जनतालाई गुणस्तरीय, किफायती र सबैका लागि पहुँचयोग्य आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित सन् २०२४ जनवरी १ मा स्थापना भएको यस केन्द्रले जीवनस्तर सुधार, प्रारम्भिक पहिचान र रोकथाममार्फत अन्धोपन न्यूनीकरणमा योगदान पु¥याउँदै आएको छ।
दोस्राे वार्षिकोत्सव कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम व्यवस्थापक डा. मोहन कृष्ण श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, वडा नं. ११ का वडाध्यक्ष नील बहादुर देसार, वडा नं. २२ का वडाध्यक्ष सागर तुलाधर, विभिन्न वडाका वडाध्यक्ष, बज्रवाराही अस्पतालका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तिलगंगा आँखा प्रतिष्ठान र गोदावरी नगरपालिका बीचको ३० वर्षे सम्झौता अनुसार केन्द्रले वर्तमानमा दृष्टि परीक्षण, व्यापक आँखा जाँच, साना र प्रमुख शल्यक्रियाहरू, फन्डस फोटो, औषधि र चश्मा वितरण, आउटरीच कार्यक्रम, स्कूल आँखा स्वास्थ्य कार्यक्रम, मधुमेहजन्य रेटिनोपथी जाँच लगायतका सेवा प्रदान गर्दै आएको छ।
केंद्रका इन्चार्ज श्रद्धा महर्जनका अनुसार, स्थापनाकालदेखि अहिलेसम्म १२ हजारभन्दा बढीको आँखा जाँच, ५ सयभन्दा बढी शल्यक्रिया, र ३२ वटा विद्यालय तथा समुदायमा आँखा शिविर संचालन गरिएको छ। यस वर्षका मुख्य उपलब्धिहरूमा फन्डस फोटो सेवा विस्तार, मोतीबिन्दु र प्रमुख शल्यक्रियामा वृद्धि, औषधि तथा चश्मामा पहुँच सुधार, वित्तीय स्थिरता, र समुदायमा विश्वास तथा सेवा उपयोगमा वृद्धि रहेका छन्।
केन्द्रले भविष्यमा पनि गुणस्तरीय आँखा उपचार सेवालाई समुदायसम्म पुर्याउँदै रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।









