काठमाडौं- नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्य चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ। आइतबार दिउँसो २ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म ११ हजार मत गणना भइसकेको छ।
मंगलबार बिहान ११ बजेसम्मको मतगणना अपडेट अनुसार उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पाले ६६४ मतको अग्रता लिएका छन्। उनले हालसम्म ४ हजार ७ सय ६० मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन्।
उपाध्यक्ष पदमा उनलाई पछ्याइरहेका डा. गुणशरण साहले ४ हजार ९६ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १ हजार ६ सय ९२ मत प्राप्त गरेका छन्।
यसैगरी, सदस्य पदतर्फ डा. छवि पन्थी अग्रस्थानमा छन्। उनले ४ हजार ५ सय २१ मत प्राप्त गरेका छन्। डा. सारिका गोइतले ४ हजार २ सय १५ मत, डा. दीपेन्द्र पाण्डेले ३ हजार ६ सय ८० मत, डा. योबिनकुमार यादवले ३ हजार ४ सय २० मत, डा. अस्मिता पोखरेलले ३ हजार ८९ मत, डा. सम्राट पराजुलीले ३ हजार ६८ मत र डा. निना राईले २ हजार ८ सय ४१ मत प्राप्त गरेका छन्।
त्यसैगरी, डा. रबिन बस्नेतले २ हजार ८ सय ३१ मत, डा. कुम्भराज जोशीले २ हजार ८ सय १३ मत, डा. घनश्याम पाण्डेले २ हजार ७ सय ८३ मत, सरोजकुमार साहले २ हजार ५ सय ९५ मत र डा. उज्ज्वल ठाकुरले २ हजार २ सय ९८ मत प्राप्त गरेका छन्।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा मतदान भएको थियो। धुलिखेलमा ११ पुसमा मतदान सम्पन्न भएको थियो भने काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो।
निर्वाचनमा कुल ११ हजार ९ सय २२ मत खसेको छ। अब ९ सय २२ मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्ष पदका लागि तीन जना उम्मेदवार रहेका छन् भने आठ सदस्य पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ।








