काठमाडौँ- पछिल्लो समय नेपालमा युवा पुस्तामाझ भेप (ई–सिगरेट) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। धेरैले भेपलाई चुरोटको विकल्प मात्र होइन, सोख र फेसनको रूपमा समेत प्रयोग गरिरहेका छन्। तर, भेप पनि चुरोटजत्तिकै स्वास्थ्यका लागि हानिकारक हुने विषयमा अधिकांश प्रयोगकर्ता अनविज्ञ रहेको पाइएको छ।
क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तरका अनुसार भेपले चुरोटसरह नै मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। उनका अनुसार भेप सेवनले फोक्सो, स्वासनली र मुखको क्यान्सर हुने जोखिम उच्च हुन्छ।
उनले भने, ‘भेपले हानी गर्दैन वा चुरोटभन्दा कम हानिकारक हुन्छ भन्ने धारणा पूर्ण रूपमा गलत हो। भेपले पनि फोक्सो, स्वासनली र मुखको क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ।’
डा. अख्तरका अनुसार भेपमा प्रयोग हुने तरल पदार्थ (भेप सोलुसन) मा विभिन्न प्रकारका हानिकारक केमिकल र हेभी मेटल्स मिसाइएको हुन्छ। बास्ना दिन फर्मल्डिहाइड, एसिटाइलजस्ता रसायन प्रयोग गरिन्छ भने प्रयोगशालामा तयार पारिएका अखाद्य पदार्थहरू समेत भेप सोलुसनमा समावेश हुने उनले बताए।
उनका अनुसार भेपको धुवाँ साससँगै लिँदा श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो तथा फोक्सोभित्रको मांसपेशीसम्म गम्भीर क्षति पुग्न सक्छ। भेपको प्रयोगले शरीरको डीएनए संरचनामा समेत परिवर्तन ल्याउन सक्ने खतरा रहेको उनले चेतावनी दिए।
‘भेपको धुवाँले श्वासनलीदेखि फोक्सोभित्रसम्मको मांसपेशी ड्यामेज गर्छ। डीएनएजस्तो सानो इकाइमा समेत परिवर्तन ल्याउन सक्छ,’ उनले भने, ‘भेप प्रयोग गर्ने व्यक्तिमा “पपकर्न लङ” जस्तो समस्या देखिन सक्छ, जसमा छातीको एक्स–रे गर्दा दुवै फोक्सोमा सेतो दागहरू देखापर्न सक्छन्।’
के हो भेप ?
भेप धूमपानको तलतल मेट्न प्रयोग गरिने विद्युतीय उपकरण हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विद्युतीय चुरोट मुख्यतः इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैर–निकोटिन वितरण प्रणाली गरी दुई प्रकारका हुन्छन्।
भेप ब्याट्रीबाट सञ्चालन हुने विद्युतीय चुरोट हो, जसमा तरल पदार्थ तताएर सास फेर्न मिल्ने वाष्प (भेपर) बनाइन्छ। विज्ञहरूले भेप सुरक्षित विकल्प होइन भन्दै यसको प्रयोगबाट टाढा रहन सुझाव दिएका छन्।









