काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई अब मास्टर तह सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ।
प्रतिष्ठानका अनुसार २०८२ वैशाख २ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्स अन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा उक्त निर्णय गरेको हो। न्याम्सका सहायक डीन (परीक्षा) प्रा. डा. विकास विक्रम सिंह अधिकारीद्वारा जारी सूचनामा यो निर्णय सार्वजनिक गरिएको छ।
निर्णयअनुसार चिकित्सा शिक्षा आयोगको मार्गदर्शन बमोजिम फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकले मास्टर तहका विद्यार्थीले पाउने बराबरको निर्वाह भत्ता प्राप्त गर्नेछन्। यसले फेलोसिप अध्ययन गरिरहेका चिकित्सकको आर्थिक भार घट्ने र अध्ययन तथा सेवामा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
न्याम्स अन्तर्गत वीर अस्पतालसहितका आङ्गिक अस्पतालमा कार्यरत फेलोसिप चिकित्सकहरूले लामो समयदेखि निर्वाह भत्ताको माग गर्दै आएका थिए।










