काठमाडौँ- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रमा फोक्सो तथा श्वासप्रश्वास उपचारसँग सम्बन्धित ‘इन्टरभेन्सनल पल्मोनोलोजी निरन्तर चिकित्सकीय शिक्षा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ‘क्रायो–एयरवे पुनःस्थापना’ विषयमा आयोजित यो कार्यक्रम २०८२ साल पुस ३ गते अस्पतालको सम्मेलन कक्षमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन अस्पतालका अध्यक्ष तथा वरिष्ठ परामर्शदाता चिकित्सक अन्कोलोजिस्ट डा. सुधिप श्रेष्ठको अध्यक्षतामा भएको थियो। उद्घाटन मन्तव्यमा उहाँले अस्पतालमा उपलब्ध इन्टरभेन्सनल पल्मोनोलोजी सेवाको महत्व, यसको निरन्तर विकास तथा अत्याधुनिक श्वासप्रश्वास उपचार सेवाबारे प्रकाश पारे।
कार्यक्रमका दोस्रो वक्ता अस्पतालका चिकित्सा निर्देशक तथा वरिष्ठ परामर्शदाता अन्कोलोजिस्ट डा. बिजेशराज घिमिरे रहेका थिए। उनले कार्यक्रमको उद्देश्य, वैज्ञानिक महत्व तथा चिकित्सकीय अभ्यासमा यसले पुर्याउने सकारात्मक प्रभावबारे धारणा व्यक्त गरे।
वैज्ञानिक सत्रको नेतृत्व परामर्शदाता क्लिनिकल तथा इन्टरभेन्सनल पल्मोनोलोजिस्ट डा. विश्वाश शर्माले गर्नुभयो। उहाँले इन्टरभेन्सनल पल्मोनोलोजी अन्तर्गतका पाँच फरक–फरक केस प्रस्तुत गर्दै ‘क्रायो–एयरवे पुनःस्थापना’ प्रविधिको प्रयोग, प्रभावकारिता तथा उपचारात्मक उपयोगिताबारे विस्तृत जानकारी दिनुभयो।
अस्पतालभित्रै आयोजित कार्यक्रममा नर्सिङ टिम, बायो–मेडिकल टिम, विभागीय प्रमुखहरू, चिकित्सकहरू, इन्चार्ज तथा सुपरभाइजरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा अस्पतालकी शैक्षिक निर्देशक, सल्लाहकार तथा वरिष्ठ परामर्शदाता विकिरण अन्कोलोजिस्ट डा. गिसुपनिखा प्रसिकोले धन्यवाद ज्ञापन गर्दै वक्ता, सहभागी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरे।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले भविष्यमा पनि यस्ता शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै स्वास्थ्य सेवा र चिकित्सकीय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ।









