हेटौँडा- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले हेटौँडामा आयोजना गरेको निरन्तर चिकित्सक शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल चिकित्सक संघ हेटौँडा शाखाको विशेष सहयोगमा सम्पन्न कार्यक्रमले स्थानीय चिकित्सक समुदायसँग बहु–विषयक क्यान्सर उपचार मोडेलबारे महत्वपूर्ण संवाद स्थापित गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन नेपाल क्यान्सर अस्पतालकी मार्केटिङ म्यानेजर स्मिता बमले गरेकी थिइन्। वैज्ञानिक सत्रको नेतृत्व अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्टेन्ट मेडिकल अनकोलोजिस्ट डा. सुदीप श्रेष्ठले गरे। उनले क्यान्सर उपचारमा बहु–विषयक मोडेलको आवश्यकता, बिरामीको व्यक्तिगत अवस्था अनुसार उपचार योजना तयार गर्ने प्रक्रिया तथा क्यान्सर अस्पताल ले अपनाइरहेको व्यक्तिकेन्द्रित क्यान्सर उपचार अवधारणाबारे विस्तृत जानकारी दिए।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रेक्टर प्रा. डा. दिनेश के. लाम्साल, वरिष्ठ बालरोग विशेषज्ञ तथा चिकित्सक संघ मकवानपुर शाखाका अध्यक्ष डा. हरि ब. खड्का, साथै वरिष्ठ प्राध्यापक प्रा. डा. दिनेश बनस्टोलालगायत विशिष्ट व्यक्तित्वहरूको सम्मानित उपस्थिति रहेको थियो।
कार्यक्रममा हेटौँडा तथा आसपास क्षेत्रका ८० भन्दा बढी चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी चिकित्सकहरूले कार्यक्रमलाई ज्ञानवर्धक र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले हेटौँडा क्षेत्रका चिकित्सक समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा ज्ञानमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।









