डडेल्धुरा- डडेल्धुरा अस्पतालले मंसिर १५ मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन स्थगित गरेको छ। छनोट प्रक्रिया विवादित बनेपछि अस्पताल विकास समितिले नयाँ सूचना जारी गर्दै सो विज्ञापन रोकिएको जानकारी दिएको हो।
समितिले स्थगित गर्ने कारण ‘प्राविधिक समस्या’ भन्दै औपचारिक रूपमा सार्वजनिक गरे पनि अस्पतालले राजनीतिक दबाब थेग्न नसकेर विज्ञापन रोकेको स्रोतले बताएको छ। विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायको चासो बढेपछि अस्पताल व्यवस्थापन तनावमा परेको थियो।
अन्तर्वार्तामार्फत मात्र कर्मचारी छनोट गर्ने अस्पतालको निर्णयप्रति नेपाली कांग्रेस (बीपी) असन्तुष्ट रहँदै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालामार्फत अस्पताललाई ध्यानाकर्षण गराएको थियो। सोही विषयमा व्यापक आलोचना बढ्दै गएपछि अस्पतालले चयन प्रकृयालाई लिएर पुनर्विचार गर्ने तयारी गरेको बताइएको छ।
अस्पतालले विज्ञापन स्थगित भए पनि आगामी प्रक्रियाबारे भने स्पष्ट निर्णय सार्वजनिक गरेको छैन।









